१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी केन्द्र : पदाधिकारी टुंगो लगाउन नसकेपछि कार्यदल गठन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठक पदाधिकारी छनोट गर्न नसकी टुंगिएको छ। पदाधिकारी टुंगो लगाउन बुधबार विराटनगरमा बसेकोे बैठक पदाधिकारी टुंगो नलगाई सम्पन्न भएको हो।

अध्यक्षको दौडमा रहेका पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले समितिको पहिलो बैठकमा आफूहरु ‘ब्याक’ हटेको बताएका थिए। तीनै जना प्रदेशको अध्यक्ष पद छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका थिए। केन्द्रीय सदस्यहरुले बैठकको सुरुवातमै आफूहरुबीच नेतृत्वमा दावी नगर्ने र प्रदेश सदस्यहरुकै बीचबाट नयाँ नेतृत्व चयनको बाटो खोल्ने सहमति गरेको माओवादी स्रोतले जनाएको छ।

तर, पदाधिकारीहरुको नाम प्रस्ताव नहुँदै प्रदेश १ का सहइन्चार्ज सावित्री कुमार काफ्लेले कार्यदल प्रस्ताव गरेपछि केही बेर हल्लिखल्ली मच्चिएको थियो। हल्लाकैबीच नयाँ नेतृत्व छनौटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन गरिएको काफ्लेले जानकारी दिए।  

उक्त कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा पदाधिकारी प्रस्ताव गर्ने जिम्मा पाएको छ। उक्त प्रस्तावमाथि समितिको बैठकमा आवश्यक छलफल हुने र पारित गर्ने माओवादीले प्रदेश १ ले जनाएको छ।

प्रदेश समितिको पहिलो बैठक विराटनगरका पुराना माओवादी नेता टंक गिरी (महेश)को अध्यक्षतामा सञ्चालन भएको थियो। बैठकले प्रदेश कमिटीलाई पूर्णता दिने, अधिवेशनमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिने, समसामयिक प्रस्ताव पारित गर्ने, बाँकी रहेका पालिका अधिवेशनलाई पूर्णता दिनेलगायतका विषयमा निर्णय गरेको छ।

यसअघि मंसिर २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न प्रथम  प्रदेश १ अधिवेशनले प्रदेश समितिका पदाधिकारी टुंगो लगाउन सकेको थिएन। अधिवेशनले प्रदेश समितिका सदस्यहरूमात्रे छनौट गरेको थियो। 

प्रकाशित: २९ मंसिर २०७८ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App