१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

शिक्षामा विदेशी लगानीप्रति सचेत हुनुपर्ने

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले शिक्षामा विदेशी लगानीप्रति सचेत हुनुपर्ने औंल्याएका छन्।

भक्तपुरको कमलविनायकस्थित वागीश्वरी कलेजको नवौं कलेज सभामा नगरप्रमुख प्रजापतिले देशका विभिन्न शैक्षिक केन्द्रहरु विदेशी लगानीमा सञ्चालित भइरहेको उल्लेख गर्दै सो लगानीले देशको हित नगर्ने औंल्याएका हुन्।

उनले नेपालको शिक्षालाई विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नसक्ने बनाउनुपर्नेमा जोड दिँदै शिक्षामा आत्मनिर्भरता जरुरी रहेको चर्चा गरे। ‘सधैं विदेशी र सरकारी मुख ताकिरहनुभन्दा आफ्नै बलबुत्तामा गरेको प्रगति बढी दिगो हुन्छ र त्यसमा अपनत्व भाव धेरै हुन्छ’, उनले भने।

उनले शैक्षिक अनुसन्धानमा छुट्याइएको रु. २८ लाख बजेट खर्च गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सुझाव दिँदै शिक्षामा सुधारका लागि अनुसन्धानको आवश्यकता सवैतिर महशुस गरिएको बताए।

उनले नेमकिपाले शिक्षालाई पहिलो प्राथमिकता दिँदै आएको हुँदा आज बौद्धिक जगतमा यसलाई ‘ख्वप मोडेल’ भन्न थालेको चर्चा गर्दै त्यो मोडेलभित्र वागीश्वरी कलेज पनि पर्ने बताए।

‘सरकारी नीति एउटै परिसरमा दृढता शैक्षिक संस्था सञ्चालन गर्न नहुने भन्ने छ तर हामी एउटै संस्थामा पनि बिहान, दिउँसो र बेलुकाको सिट सञ्चालन गरेर भवनलाई अधिकतम उपयोग गर्दैछौँ’, उनले भने, ‘सरकार स–साना स्कुल मर्ज गर्न खोज्छ, हामी स साना स्कुललाई सबल बनाउन खोज्छौँ। यही हाम्रो विशेषता हो।’

सभामा संविधान सभासद् अनुराधा थापामगर, बाग्मती प्रदेशसभा सदस्य सिर्जना सैंजूले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नगरी देशी र विदेशी समसामयिक विषयमा पनि अद्यावधिक गरिराख्नुपर्नेमा जोड दिइन्। सोही अवसरमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर शैक्षिक गन्तव्यको रुपमा विकास भइरहेको सन्दर्भमा वागीश्वरी कलेजको पनि महत्वपूर्ण योगदान रहेको बताइन् भने वडाध्यक्ष रवीन्द्र ज्याख्वले सामुहिक नेतृत्वबाटै कलेजको प्रगति सम्भव भएको बताए।

प्राचार्य धनकुमार श्रेष्ठले सभामा अनुमोदनका लागि कलेज व्यवस्थापन समिति साविकलाई कार्यकाल थप गर्ने, कलेज विधान पारित गर्ने, आगामी पा“चवर्षको रणनीतिक योजना पारित गर्ने र २०७८/०७९ को बजेटका साथै ०७७/०७८ को लेखा प्रतिवेदन अनुमोदन गर्ने प्रस्ताव पेश गरेका थिए। सोही सभाले साविककै कलेज व्यवस्थापन समिति पुनर्गठन समेत गरेको छ।

प्रकाशित: २५ मंसिर २०७८ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App