२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय सदस्यमा उदयपुरका दुई महिला

चितवनमा सम्पन्न नेकपा (एमाले)को १० औं महाधिवेशनबाट उदयपुरका दुई महिला केन्द्रीय सदस्य भएकी छन्। केन्द्रीय सदस्यका लागि ३ पुरुष र २ महिलाको दावी रहेकोमा पूर्व सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी र प्रदेश सांसद अम्बिका थापा केन्द्रीय सदस्य बनेकी हुन्। तीनजना पुरुषले भने सदस्यमा चुनिएनन्।

चौधरी र थापा पार्टी विभाजन हुनुअघिदेखि नै अध्यक्ष केपी शर्मा ओली निकट हुन्। ओली निकट भएकैले उनीहरुलाई केन्द्रीय सदस्यमा सर्वसम्मत गरिएको पार्टी कार्यकर्ताहरु बताउँछन्।

चौधरी ०७० को संविधानसभा चुनावमा प्रतिनिधिसभा क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित भएर ९ महिने ओली सरकारमा राज्यमन्त्री भएकी थिइन्। ०७४ को प्रतिनिधिसभा चुनावमा १ नं. क्षेत्रबाट प्रत्यक्षतर्फ लडेकी उनी पार्टीभित्रकै अन्तरघातका कारण झिनो मतले काँग्रेसका डा. नारायण खड्कासँग पराजित भएकी थिइन्।

उनी पूर्व सांसद तथा सहायकमन्त्री लक्ष्मीनारायण चौधरी पत्नी हुन्। चौधरीलाई यसअघिको केन्द्रीय समितिमा पनि ओलीले मनोनित गरेका थिए। यसअघि अखिल नेपाल महिला संघ उदयपुरको जिल्ला अध्यक्ष भइसकेकी उनी केन्द्रीय सदस्य पनि भइसकेकी छिन्। थापा प्रदेश १ बाट समानुपातिक सांसद हुन् भने अनेमसंघको केन्द्रीय सदस्य पनि हुन्।

उदयपुरबाट केन्द्रीय सदस्य दावी गर्ने ३ पुरुषले भने स्थान पाउन सकेनन्। जिल्ला समन्वय समिति उदयपुरका प्रमुखसमेत रहेका खड्ग परियार, बेलका नगरप्रमुख दुर्गाकुमार थापा र विद्यार्थी नेता शैलेस लामाले केन्द्रीय सदस्य दावी गरे पनि स्थान सुरक्षित गर्न सकेनन्। परियार र थापा पार्टी जिल्ला सदस्य हुन् भने लामा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष हुन्।

जिल्लामा उग्र ओली निकट मानिएका उनीहरु तीनैजनाको नाम ओलीको लिस्टमा नअटेको कार्यकर्ताहरु बताउँछन्।

प्रकाशित: १६ मंसिर २०७८ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App