४ वैशाख २०८१ मंगलबार
राजनीति

विवाद बढेपछि सर्लाहीको काँग्रेस अधिवेशन अनिश्चित

संस्थापन र इत्तर पक्ष झडपउन्नमुख

घाइते निर्वाचन अधिकृत उमेशचन्द्र झा। तस्बिरः नागरिक

नेपाली काँग्रेसको सर्लाही अधिवेशनमा दुई पक्षबीचको विवाद उग्र रुप लिँदै झडपमा परिणत भएको छ। दैनिक जसो हुने झडपले अधिवेशनलाई अनिश्चितता तर्फ धकेलेको छ। सोमबार दिउँसो संघीय निर्वाचन क्षेत्र नम्बर–४ को बलरा नगपालिका वडा नम्बर ८ को वडा अधिवेशनको क्रममा झडप भएको हो।

झडपमा जनता मावि फुलपरासीका मतदान अधिकृत उमेशचन्द्र झासहित पाँच जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए। उनका अनुसार वडा अधिवेशनको क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो।

झडपमा ३ जना प्रहरी, एक जना सर्वसाधारण घाइते भएका हुन्। झाको टाउकोमा चोट लागेको छ भने एक जना इन्सपेक्टरको हात भाँचिएको उनले बताए। झालाई थप उपचारका लागि वीरगन्ज पठाइएको काँग्रेस जिल्ला सभापति नागेन्द्रकुमार रायले बताए।  

झडपमा प्रहरी निरीक्षक सुरेश ठाकुर, सहायक प्रहरी निरीक्षक अरूणकुमार यादवसहित घाइते भएको सार्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।

सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि छुटाउन गएका प्रहरीसँग झडप भएको थियो।

विवाद बढेर झडपको रुप लिन थालेपछि बलराको वडा नम्बर ८ र ९ को अधिवेशन रोकिएको छ। यी दुई वडामा जिल्लाका नेताहरुसँग बसेर आवश्यक छलफलपछि अधिवेशन गराउने निर्वाचन अधिकृत भरत राउतले बताए। ११ वडा रहेको बलरामा अन्य ५ वडामा सहमति भएको छ भने ४ वडामा छलफल चलिरहेको उनले बताए। यी ४ वडामा सहमति नभए निर्वाचन गराउने तयारी छ।

नेपाली कांग्रेसको सर्लाही अधिवेशनमा विवाद अचानक भएको भन्ने होइन। कात्तिक महिनादेखि नै यहाँ संस्थापन र इत्तर पक्षबीच विवाद हुँदै आएको छ। यसअघि निर्वाचन गराउन सर्लाही पुगेका दुई जना निर्वाचन अधिकृतले राजीनामा दिइसकेका छन्। निर्वाचन अधिकृत दिवाकरराज पाण्डे र विनोद कार्कीले राजीनामा दिइसकेका हुन्।

पहिलोपटक खटाइएको निर्वाचन अधिकृत विनोद कार्की दुई पक्षको विवादले अधिवेशन गराउन नसक्ने भन्दै गएको कात्तिक २६ गते राजीनामा बुझाएका थिए। त्यसपछि केन्द्रीय निर्वाचन समितिले कात्तिक २७ गते पाण्डेलाई नयाँ निर्वाचन अधिकृतको रूपमा सर्लाही पठाएको थियो। तर, विवाद र कुटाकुटका घटनापछि उनले पनि राजीनामा दिए।

पाण्डेले दुवै पक्षलाई सहमतिमा ल्याएर अधिवेशन गराउन अथक प्रयास गरे पनि सम्भव नभएपछि राजीनामा दिएका थिए।

सर्लाहीमा कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्वजिल्ला सभापति लक्ष्मण राय पक्षबीचको विवादका कारण अधिवेशन प्रक्रिया अगाडि नबढेको बताइएको छ। नागेन्द्र पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् भने लक्ष्मण वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।

काँग्रेस सर्लाही जिल्ला सभापति नागेन्द्रकुमार रायले विवाद र झडप गराएर अमरेशकुमार सिँहले जिल्लाको अधिवेशन विथोल्न खोजेको आरोप लगाए। रायले नागरिकसँग भने,‘ उनी(अमरेश)आफू हार्ने देखेपछि चुनाव नै विथोल्ने हदसम्मको गतिविधि अघि बढाएका छ।’ उनले(अमरेश) अनावश्यक बखेडा झिकेर झडप निम्त्याइरेका छन् रायले भने,‘सीमापारिबाट मान्छे ल्याएर खुनखराबा मच्चाउन खोजेका छन्। हामी संयमता अपनाएका कारण अप्रिय घटना हुन पाएको छैन’, उनले भने।

रायका अनुसार आइतबार पनि उनकै मान्छेहरु प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओको पेस्तोल खोस्ने क्रममा हवाई फायर भएको हो। रायले भने,‘उनीहरुले मन्त्रीका पिएसओ रामचन्द्र खंगको टाउको समेत फुटाएका थिए।’

अमरेश पक्षले प्रणाली मिच्ने र प्रणाली लागु गर्नेबीचको विवाद भएको बताए।

प्रकाशित: १३ मंसिर २०७८ १३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App