१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महाधिवेशनको रौनकले नेता–कार्यकर्तामा उमंग

चितवनको नारायणी नदीकिनारमा शुक्रबार आयोजित एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह ।तस्बिरः नरहरि सापकोटा/नागरिक

पार्टी विभाजन खेपेको एमालेको १०औं महाधिवेशनको उद्घाटन कार्यक्रममा चितवनको भव्य उपस्थितिले नेताकार्यकर्तामा जोस थपेको छ। नारायणीवारि, पारि, पुलमा,भरतपुरको सडक, गल्लीहरू पनि शुक्रबार दिनभर खचाखच देखिन्थे। नेताहरूले एमाले छाडेर गएकाहरूलाई नारायणी किनारको मानव सागर हेर्न चुनौतीसम्म दिए।

उद्घाटन सत्रमा एमालेबाट विभाजन भएर छुट्टै दल गठन गरेका माधव नेपालप्रति आक्रामक देखिएका केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि उत्तिकै गाली गर्न भ्याए। कार्यकर्ता र जनताका बीचमा ओलीले निकै उत्तेजित भएर भाषण गरेका थिए।

देशभरबाट महाधिवेशनको उद्घाटनमा सहभागी हुन आएका कार्यकर्ता कतिपयले कार्यक्रम नै देख्न पाएनन्। अत्यधिक भिडका कारण महाधिवेशनमा बोलाइएका अन्य पार्टीका अथितिहरूलाई पनि मञ्चमा पुग्न निकै सकस भयो।

कार्यक्रम सकिँदा पनि कार्यकर्ता नारायणी किनारतर्फ जाने क्रम चलिरहेको थियो। सहभागी भएर फर्कने र जाँदै गरेकाहरूको भिडले पारस बसपार्कदेखि चौबिसकोठी हुँदै कार्यक्रमस्थलसम्म सवारी आउजाउ बन्द गर्नुपरेको थियो। दिनभरजसो प्रहरीले राजमार्गमा मालवाहक सवारीसाधन चल्नसमेत रोक लगाएको थियो। ठाउँठाउँमा डिजिटल बोर्डबाट कार्यक्रम देखाइएको भए पनि सबैले त्यो सुविधा पाएनन्।

१ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए। प्रधानमन्त्रीसहित अन्य पार्टीका शीर्ष नेता पनि शुक्रबार चितवन रहेकाले यहाँको सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो।

सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको देखिन्थ्यो। शुक्रबार बिहान झिसमिसेदेखि एमालेका नेताकार्यकर्ता महाधिवेशन उद्घाटनस्थल वरपर भेला हुने, फोटो खिच्ने नाचगान गर्ने गरेका थिए। जसले गर्दा दिनभरजसो चितवन एमालेमय बन्यो। दिउँसो १२ बजेदेखि उद्घाटन कार्यक्रम सुरु हुने बताइए पनि करिब १ बजेबाट मात्र सुरु गरिएको थियो। विभिन्न जातीय वेषभूषा, संस्कृति झल्कने गीत, संगीत प्रस्तुत गरिएको थियो।

अधिवेशन उद्घाटन स्थलमा बनाइएको गैंडाको आकृति (मस्कोट) ले धेरैको ध्यान खिचेको थियो। मस्कोटलाई बोकाइएको झन्डा छेउ सेल्फी खिच्नेको लर्को थियो। चितवन एकसिङे गैंडाका लागि प्रख्यात रहेको र त्यसको संरक्षण स्वरूप मस्कोटलाई प्रतीक बनाइएको कार्यक्रम सञ्चालक एमाले नेता प्रदीप ज्ञवालीले उद्घोषणका क्रममा बताए। अध्यक्ष केपी ओलीले पनि मस्कोटले चितवनको पहिचान दिएको बताएका थिए।

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा सँगसँगै कार्यक्रम स्थल पुगेका थिए। ओली सरकार विघटन भएर देउवाको नेतृत्वमा सरकार बनेपछि सम्बन्ध चिसिएको आकलन कार्यकर्ताको थियो।

एमाले महाधिवेशनमा उपस्थित भएर देउवाले सम्बोधन गरेपछि सम्बन्ध सुमधुर रहेको सन्देश महाधिवेशनबाट नेताहरूले दिएका छन्। देउवाले सम्बोधनका क्रममा ओली र आफू सँगै जेल बसेको बताए। करिब चार महिनापछि ओली र देउवा एउटै मञ्चमा देखिएका थिए।

ओलीले रिमोर्टबाट पार्टीको झन्डा, चुनाव चिह्न र राष्ट्रिय झन्डा उत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरे। रिमोर्ट थिच्दा तीनवटै झन्डा माथि सरेको दृश्य नौलो थियो। ओलीले मदन भण्डारी स्मृति ग्रन्थ भाग २, प्रेस चौतारी चितवनले प्रकाशन गरेको चौतारी पत्रिकाको पनि विमोचन गरे। एमालेको मुखपत्र ‘नवयुग’को डिजिटल भर्सन (अनलाइन) को पनि अध्यक्ष ओलीले शुभारम्भ गरे।

उद्घाटन कार्यक्रममा सहभागी भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राप्रप्रा अध्यक्ष कमल थापा,माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणी पोखरेल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर कसैले पनि एमालेको आलोचना भने गरेनन्। कमल थापा, महन्थ ठाकुरलगायतले ओलीले गरेको केही कामको प्रशंसासमेत गर्न भ्याए।

गायक एकनारायण भण्डारीको हाम्रो नेपालमा, राम्रो एमाले नामको एल्बमको पनि ओलीले विमोचन गरे। प्रविधिमैत्री अधिवेशनका रूपमा एमालेले डिजिटल बोर्ड मात्र राखेन। ओली सरकारमा हुँदा गरेका र यस अघि एमालेले सरकारको नेतृत्व गर्दा गरेको कामलाई वृत्तचित्र बनाएर पनि उद्घाटन सत्रमा देखाइएको थियो।

डिस्प्ले बोर्डमा एमाले अध्यक्ष ओलीको गुणगान गाएर तयार गरिएको करिब आठ मिनेटको भिडियो प्रस्तुत गरिएको थियो। सहभागीलाई स्वागत गर्दै एमाले नेता एवं महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले समाजवाद र समृद्धिको आन्दोलनमा लागेको बताए।

सयौं सवारीसाधन रिर्जभ गरेर हजारौं कार्यकर्ता चितवनमा उतारेर एमालेले शुक्रबार शक्ति प्रदर्शन गर्‍यो। यसका लागि एमालेले करोडौं रूपैयाँ खर्च गरेको छ। ५० भन्दा बढी स्वागत गेट, बाजागाजासहितको झाँकी,र्‍याली पनि निकालिएको थियो। एमाले नेताकार्यकर्ताका कारण बिहीबारदेखि नै चितवनका होटलहरू खचाखच छन्।

कोरोनाले थलिएको होटल व्यापार एमाले महाधिवेशनले केही सुधार भएको भन्दै सौराहाका व्यवशायी पनि उत्साहित छन्। झिसमिसेमै बन्द हुने सौराह बिहीबारदेखि नै रातभर खुलेको थियो। शुक्रबारदेखि महाधिवेशनको बन्दसत्र सुरु हुनेछ। सहभागी प्रतिनिधि र पर्यबेक्षकका लागि सौराहमा होटल व्यवस्थापन गरिएको थियो।

प्रकाशित: ११ मंसिर २०७८ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App