२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अतिवादबाट राष्ट्रिय सुरक्षामा चुनौती

कुनै पनि किसिमको अतिवाद मुलुकमा बढ्न दिनु नहुन सरोकारवालाले आग्रह गरेका छन्। धार्मिक अतिवाद र आतंकवाद एकअर्कासँग जोडिएको हुनाले यस्ता क्रियाकलापले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती थप्ने उनीहरुको भनाइ छ। वीरगन्जमा भएको ‘नेपालको राष्ट्रिय सुरक्षा र २६/११ मुम्बई हमला’ विषयक परिचर्चाका वक्ताहरुले त्यस्तो बताएका हुन्।

राष्ट्रिय एकता अभियानले वीरगन्जमा आयोजना गरेको परिचर्चा कार्यक्रममा साम्प्रदायिक संगठन र वाह्य आतंकवादी संगठनहरुबाट छिमेकी भारतमा विभिन्न आपराधिक घटना भएको जिकिर गर्दै उनीहरुले त्यसतर्फ राज्य गम्भिर हुनुपर्ने बताए।

सन २००८ को नोभेम्बर २६ मा मुम्बईमा आतंकवादी हमला भएको थियो। जसमा एक सय ७४ जना व्यक्तिहरु मारिएका थिए र तीनसय बढी जना घाइते भएका थिए। पाकिस्तानबाट जलमार्गबाट डुंगामा आएका १० जना लस्कर ए तोइबा समूहका आतंकवादीले होटल, रेलवे स्टेशन, सिनेमा हल, अस्पताल, रेस्टुरेन्ट र कलेजमा हमला गरेका थिए। घट्नामा सामेल ९ जना आतंकवादी मारिएका थिए। र, समातिएका एक जनालाई फाँसी दिइएको थियो।

भारतमा नक्कली रुपैयाँ बरामद हुँदा नेपाल भएर भित्रिएको कुरा आउनु, नेपालबाट असिम भटकल र टुन्डा जस्ता नामुद आतंवादी पक्राउ पर्नु र बिहारको आदापुर—छौडादानोमा रेल उडाउने आतंकवादी योजनामा नेपालको बारा जिल्लाका व्यक्ति अगुवाई गर्नुजस्ता घट्ना दुई देशको साझा चुनौतिको रुपमा हेर्न हुने वक्ताले आग्रह गरे। यसलाई सुरक्षाको लागि ठूलो चुनौतीको रुपमा हेर्नुपर्ने छलफल कार्यक्रममा भएको छ।

कार्यक्रममा मिडिया फोर बोर्डर हार्मोनी, नेपालका अध्यक्ष पत्रकार अनिल तिवारीले कार्यपत्र प्रस्तुत गर्दै नेपालको राष्ट्रिय सुरक्षा र २६/११ मुम्बई हमलाको विषयमा प्रकाश पारेका थिए। नेपालमा कुनै पनि देशको नागरिक सहजै आउन सक्ने, भारतसँगको खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण बेलाबेला हुने अबैध घुसपैठ जस्ता विषयलाई चुनौतिको रुपमा उनले बताए।

आतंकवाद अन्तर्राष्ट्रिय संजालमा सहयोग पुर्याउने हवाला कारोबार, हतियार ओसारपसार, जालीनोटको कारोबार, सुन तस्करी, लागूपर्दाथ ओसारपसार र मानव तस्करी लगायतको अवैध कारोबार चिन्ताको विषय रहेको कार्यपत्रमा भनिएको थियो।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापाले आतंकवादको कुनै जाति, धर्म, वर्ण र राष्ट्र नहुने बताए। यस्ता गतिविधिले राष्ट्रलाई तहसनहस पार्ने भएकोले कसैले प्रश्रय दिन नहुनेमा जोड दिए। संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम नरेश यादवले अप्रत्यासित घटना हुन नदिन सचेत हुन सुझाव दिए।

नवीनतम प्रविधि र साइबर अपराध अतिवादको हतियार भएको वक्ताहरुले बताए। कार्यक्रममा बोल्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले समाजभित्रै लुकेर सेल्टर बनाउनेहरुबाट आतंकवादी गतिविधि सञ्चालन संचालनको खतरा रहेको भनी उनले आग्रह गरे। नागरिक समाजका हरि नारायण मिश्रले मुम्बई घटना भारतका लागि मात्रै नभएर विश्व समुदायका लागि चेतावनी भएको बताउँदै सचेत हुन आग्रह गरे।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले समाजका सबै समुदायले एक अर्कालाई सम्मानजनक हिसावले व्यवहार गर्दै सुरक्षाप्रति सचेत हुनपर्नेमा जोड दिए। पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले समाजमा भइरहेका गतिविधिप्रति जागरुक रहन आग्रह गरे।

प्रकाशित: ८ मंसिर २०७८ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App