७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शान्तिप्रक्रियामा माओवादी: अजेन्डा स्थापित, विचारमा विचलन

सर्वहारा वर्गको मुक्तिका लागि भन्दै २०५२ सालबाट सशस्त्र संघर्ष सुरु गरेको तत्कालीन नेकपा माओवादी करिब १० वर्ष लामो संघर्षपछि शान्तिप्रक्रियामा प्रवेश गरेको पनि १५ वर्ष पुगेको छ। तत्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति तथा पार्टीभित्रै पनि कतिपय नेताहरू शान्तिपूर्ण राजनीतिको बाटोमा अघि बढ्नुपर्ने पक्षमा रहेको र संघर्षका क्रममा पार्टीले भोगेको क्षतिका कारण पनि माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण हुनुपर्ने बाध्यता आयो।  

राजाको प्रत्यक्ष शासन र त्यसविरुद्ध शान्तिपूर्ण राजनीति गर्दै आइरहेका दलहरूसमेत आन्दोलित भइरहेका बेला ती दलसँग संवाद गरी माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन सहज परिस्थिति बनेको थियो। त्यसमा कतिपय वैदेशिक शक्तिको सहयोगलाई पनि इन्कार गर्न सकिँदैन। जसको परिणामस्वरूप नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भएको हो। र, त्यसैको जगमा विस्तृत शान्तिसम्झौताको बाटो खुलेको हो।

सशस्त्र संघर्षका बेला देशभर आफ्नो प्रभाव विस्तार गर्न सफल माओवादी शान्तिप्रक्रियामा प्रवेश गरेपछि पनि ठूलो शक्तिका रूपमा उदायो। आफ्नै अजेन्डाअनुसार संविधानसभाको निर्वाचनमार्फत सबैभन्दा ठूलो दलका रूपमा उदाएको माओवादीले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी सहभागिता, संघीयताजस्ता अजेन्डालाई स्थापित गर्दै गयो। विस्तृत शान्तिप्रक्रियाको डेढ दशकको समय मुलुक माओवादीकै अजेन्डामा अघि बढिरहेको देखिन्छ। तर माओवादीचाहिँ सत्ता र शक्तिमै लागेका कारण क्षयीकरण हुँदै गएको छ। उसका अजेन्डालाई भने अन्य दलले आफ्नो बनाउँदै लगेका छन्।  

१५ वर्षको अवधिमा माओवादीको मूल नेतृत्व सत्ता र शक्तिकै वरिपरि देखिन्छ। तर उसले उठाउँदै आएको अजेन्डामा अडिग हुने र त्यसको जस लिन सकेको देखिँदैन। माओवादी नेतृत्व सर्वहारा वर्गभन्दा पनि हुनेखाने वर्गसँग बढी घुलमिल र उठबस गरेको देखिन्छ। त्यसैले त जनयुद्धकालीन सहकर्मी सिपी गजुरेल दाहालको नेतृत्वमा केही व्यक्तिको वर्ग उत्थान भए पनि आम जनताको अवस्थामा कुनै परिवर्तन नआएको बताउँछन्। गजुरेल माओवादी शान्तिप्रक्रियामा प्रवेश प्रक्रियालाई नै गलत मान्छन्। ‘त्यो शान्तिप्रक्रियाभन्दा पनि आत्मसमर्पण थियो। देशभित्रका प्रतिक्रियावादी र विदेशी शक्तिसँग नेतृत्वले गरेको आत्मसमर्पण र सम्झौता थियो,’ गजुरेलले भने।

नेतृत्वले गरेको गल्ती सच्याउन शान्तिप्रक्रियामा प्रवेश गरेको साढे ६ वर्षसम्म प्रयास गर्दा पनि दाहाल सुध्रिन नचाहेपछि माओवादी टुटफुटको सिकार भएको गजुरेलको निष्कर्ष छ। त्यही टुटफुटका कारण माओवादी आन्दोलन वैचारिक हिसाबले मात्र नभएर सांगठनिक हिसाबले पनि निकै कमजोर बन्दै गइरहेको छ।

माओवादी आन्दोलनका कारण प्राप्त उपलब्धि र अवसर केही व्यक्तिका लागि मात्र भएको पूर्वलडाकु लेनिन बिष्ट बताउँछन्। ‘यो परिवर्तनलाई आमजनता र कार्यकर्ताले महसुस गर्न सकेका छैनन्। बितेका १५ वर्षमा केही मुठीभर व्यक्तिको मुहारमा मात्र खुसी आएको छ। अरू सबै दुःखी छन्,’ सेना समायोजनका क्रममा कम उमेरका कारण बहिर्गमनमा परेका बिष्टले भने। अहिले आएर विगतमा सशस्त्र आन्दोलनमा सहभागी भएर गल्ती गरिएछ कि भन्ने महसुस हुन थालेको उनी बताउँछन्।  

माओवादी आन्दोलनका अगुवाहरू सत्ता शक्ति र द्रव्य आर्जनमा केन्द्रित भएको स्वयं दाहालले पनि बेलाबेलामा स्विकारेका छन्। विभिन्न कार्यक्रममा बोल्ने क्रममा उनले नेताकार्यकर्ता पद र प्रतिष्ठाका लागि मात्र मरिहत्ते गर्न थालेको बताउँदै आएका छन्।

प्रकाशित: ५ मंसिर २०७८ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App