४ वैशाख २०८१ मंगलबार
राजनीति

मुख्यमन्त्रीले आज विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्।  

आज बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिनका लागि सत्ता गठबन्धनआबद्ध दलहरूले छुट्टा छुट्टै र संयुक्त बैठक गरेर मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णयसमेत गरिसकेका छन्।

सोमबार नेपाली कांग्रेसको संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय गरेको छ। यस्तै मुख्यमन्त्री राईलाई विश्वासको मत दिन सत्तारुढ गठबन्धनआबद्ध दलहरूको संयुक्त बैठक पनि सोमबार नै बसेको थियो।

आइतबार मुख्यमन्त्री राईले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गरेका थिए। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ सरकार बनेको थियो।

पाँच दलीय गठबन्धन सरकारमा एकीकृत समाजवादी, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन्। मुख्यमन्त्रीको पक्षमा प्रदेशसभामा हाल कायम ९२ जना सांसद मध्ये ५० जना सांसदको समर्थन रहेको छ।

प्रदेशसभामा प्रतिपक्ष एमालेका ४१ र राप्रपाका एक जना सांसद छन्। गठबन्धनको पक्षमा बहुमत सांसद रहेकाले मुख्यमन्त्री राईले विश्वासको मत पाउने स्थिति देखिन्छ।

प्रकाशित: ३० कार्तिक २०७८ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App