१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

न्यायालयमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खल्बल्लिने स्थितिः नेकपा (एस)

नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु र न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन अपिल गरेको छ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खल्बल्लिने स्थितिमा पुगेको निष्कर्ष निकाल्दै समस्या समाधानका निम्ति सबै राजनीतिक दलहरु र न्याय क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुको एकीकृत अवधारणा बनाउन अपिल गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

बैठकको निर्णयबारे जानकारी दिदैँ उनले भने, ‘देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खल्बल्लिनु संविधानवादको विरुद्ध हुन जान्छ। आज न्यायालयमा देखिएको समस्याले यो सिद्धान्त खल्ल्बल्लिने स्थितिमा पुगेको छ। न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा पनि संकट पैदा भएको छ। कानुन क्षेत्रका विद्धान अधिवक्ताहरु , उनीहरुका संगठन र नागरिक समाजका अगुवाहरु, न्यायिक सर्वोच्चताको पक्षमा आन्दोलित छन्। न्याय क्षेत्रको विद्यमान अवस्था र संकटप्रति यो बैठकको गम्भिर ध्यानाकर्षण भएको छ। यो संकट समाधानका लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरु बिच एकीकृत अवधारणा बनाउन यो बैठक अपिल गर्दछ।’

बैठकले पार्टी कार्यकर्ताहरुलाई विपद जोखिम न्युनिकरण सम्बन्धी प्रशिक्षण सञ्चालन गर्न, विपदको बेलामा खोज, उद्धार तथा राहत सहयोग प्रभावकारी रुपमा सञ्चालन गर्न तथा जनस्वयं सेवक बनाइ परिचालन गर्न निर्देशन पनि दिएको उनको भनाइ छ। 

बैठकले हालै गठन भएको पाँच दलीय गठबन्धन समन्वय समितिलाई स्वागत गर्दै सरकारको कामलाई प्रभावकारी बनाउन सघाउने तथा गठबन्धनलाई निर्वाचनसम्म लैजान यसले शसक्त भूमिका खेल्न पहलकदमी लिनेमा विश्वास व्यक्त गरेको छ।

एकीकृत समाजवादीले हालै पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्याँसमा गरिएको मुल्यवृद्धि यथाशिघ्र फिर्ता गर्न पनि सरकारसँग माग गरेको छ। शनिवारदेखि बसेको केन्द्रीय कमिटी बैठक आइतबार समापन भएको छ।

प्रकाशित: २८ कार्तिक २०७८ १४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App