८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाल–भारत सम्बन्ध थप कसिलो बनाउने सहमति

प्रधानमन्त्री शेरबहादुर देउवा र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेलायतमा भेटवार्ता भएको छ। संयुक्तराष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी हुन बेलायत पुगेका दुई समकक्षीबीच साइडलाइन बैठकअन्तर्गत मंगलबार ग्लास्गोमा भेट भएको हो।

देउवाले प्रधानमन्त्रीको जिम्मेवारी समालेपछि दुई समकक्षीबीच भएको यो पहिलो भेट हो। देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए।

झन्डै एक सातासम्म कुनै प्रतिक्रिया नजनाएका मोदीले देउवाले संसद्बाट विश्वासको मत लिएपछि मात्र शुभकामना दिएका थिए। मोदीले देउवाले विश्वासको मत पाएपछि साउन ३ गते मात्र शुभकामना दिएका थिए।

सामान्यतया नेपाल वा भारतमा प्रधानमन्त्री नियुक्त भएलगत्तै एकअर्का देशका समकक्षीले शुभकामना दिने प्रचलन छ। साथै, नेपालका प्रधानमन्त्रीले पहिलो औपचारिक विदेश भ्रमण भारतबाट थाल्ने गरेको विगतको प्रचलन हो। तर, देउवा पछिल्लोपटक प्रधानमन्त्री भएपछि उनको भारत भ्रमण हुन सकेको छैन।

यसलाई कतिपयले देउवा प्रधानमन्त्री भएकोमा भारतीय संस्थापन पक्षले नरुचाएको रूपमा पनि अथ्र्याउने गरेका छन्। देउवालाई छिमेकी देशका समकक्षीसँग भेट्ने अवसर जलवायु सम्मेलनमा मिल्यो।

भेटमा कोभिड–१९ विरुद्ध साझा प्रयास, जलवायु परिवर्तनका असर न्यून गर्न संयुक्त रूपमा काम गर्नेलगायत दुई पक्षीय सम्बन्धका विविध विषयमा फलदायी कुराकानी भएको भारतीय प्रधानमन्त्री मोदीले बताएका छन्।

 दुई नेताबीच नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने सहमतिसहित विविध विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्विटरमार्फत जनाएका छन्। भेटमा कोरोना महामारीका बेला भारतले नेपाललाई खोप, औषधि तथा अन्य स्वास्थ्य सामग्री दिएर सहयोग गरेको विषयमा पनि कुराकानी भएको थियो।

भारतीय प्रधानमन्त्री मोदीसँग मंगलबार बिहान साइडलाइन भेट गरेका प्रधानमन्त्री देउवाले त्यसपछि श्रीलंकाकाराष्ट्रपति गोटावयराजापक्षसँग पनि भेट गरेका छन्।  

भेटमा दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। देउवाले मंगलबार नै मंगोलियाकाराष्ट्रपति उखाना खुरेलसुखसँग पनि भेट गरेका छन्। सम्मेलनस्थलमा प्रधानमन्त्री देउवाको अमेरिकीराष्ट्रपति जो वाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, संयुक्तराष्ट्रसंघका महासचिव अन्टोनियो गुटेरेसलगायतका नेतासँग पनि भेट भएको छ।

प्रकाशित: १७ कार्तिक २०७८ ००:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App