१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णालीमा कांग्रेसका शाही मुख्यमन्त्री नियुक्त

को हुन् शाही?

मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाही । तस्बिरः नगेन्द्र/नागरिक

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा शाही मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन्। वैशाख २ गते भएको सहमति अनुसार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएका थिए।

कर्णाली प्रदेशसभामा रहेका ३५ सांसद मध्ये २१ सांसदले कांग्रेस नेता शाहीलाई मुख्यमन्त्री बनाउन भन्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए। संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए। मुख्यमन्त्री नियुक्त भएलगत्तै शाहीले राति नौ बजेतिर पदभार ग्रहण गरे।

नवनियुक्त मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धि र विकासका लागि ‘६ब’ को अवधारणा अघि सारेका छन्। ‘वन, विद्युत, बाटो, विचार, बजार र व्यवस्थापन कर्णालीको समृद्धिको खाका हो,’ मुख्यमन्त्री शाहीले भने, ‘मेरो नेतृत्वको सरकारले यिनै कुराहरुलाई कार्यान्वयनमा ल्याउँछ।’

कर्णाली प्रदेशका १० मध्ये हुम्ला जिल्ला सडक सञ्जालसँग जोडिएको छैन। अझै कर्णालीका ७९ वटा स्थानीय तह मध्ये १४ वटामा सडक पुगेको छैन। मुख्यमन्त्री शाहीले आफ्नो पहिलो प्राथमिकता सडक पूर्वाधार भएको बताए। उनले यसअघिको सरकारले अघि सारेको चीन जोड्ने सुर्खेत–हिल्सा सडकलाई आफूले प्राथमिकतामा राखेको बताए।

‘मेरो गृह जिल्ला हुम्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन, चीनसँग जोड्ने छोटो सडक पनि हुम्ला भएरै जान्छ,’ उनले भने, ‘दक्षिणको भारतसँग प्रदेशको सीमा नजोडिएकाले उत्तरको चीनसँग सडक सञ्जाललाई जोड्दै सबै पालिकामा बाह्रै महिना सडक सञ्चालन हुने बनाउनु मेरो सरकारको पहिलो प्राथमिकता हो।’

यस्तै कर्णालीका सबै जिल्लालाई विद्युतको राष्ट्रिय प्रसारणलाइन जोड्ने आफ्नो योजना रहेको उनले बताए। ‘अहिले पनि प्रदेश राजधानीकै विद्युत अनियमित छ,’ उनले भने, ‘सबै जिल्ला र गाउँगाउँमा विद्युत पुर्‍याउने सरकारको दोस्रो प्राथमिकतामा छ।’ मुख्यमन्त्री शाहीले वन उद्यमलाई सरकारले प्राथमिकतामा राख्ने बताए। ‘कर्णाली उच्च मूल्यका जडिबुटी र वन उद्यमका लागि उर्वर भूमि हो,’ उनले भने, ‘यसको उपयोग, संरक्षण र संवर्द्धन सरकारको प्राथमिकतामा रहन्छ।’

मुख्यमन्त्री शाहीले कर्णालीका उत्पादनको बजारीकरण र व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताए। ‘कर्णालीमा उत्पादन हुने खाद्यान्न, उच्च मूल्यका कृषि बस्तु र यहाँको खनिजको बजारीकरण र व्यवस्थापन मेरो नेतृत्वको सरकारका प्राथमिकता हुन्,’ मुख्यमन्त्री शाहीले भने, ‘अघिल्लो सरकारले गरेका राम्रा कामहरुलाई अघि बढाउँदै ‘६ब’लाई कार्यान्वयनमा लगेर जान्छौं।’

मुख्यमन्त्री शाहीले सबै पालिकामा रात्रीकालिन अवतरण गर्न मिल्ने गरेर हेलिप्याड निर्माण गरिने बताए। उनले सबै ठाउँमा यातायातको सुविधा नभएकाले पहिलो चरणमा कर्णालीका ७९ वटै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न लागिएको बताए। मुख्यमन्त्री शाहीले कर्णालीका उत्पादनहरुलाई बजारीकरणका लागि पालिकाहरुमा खाद्यान्न खरिद–विक्री केन्द्र स्थापना गरिने बताए।

मुख्यमन्त्री शाहीले कर्णालीका नागरिकहरुको सामाजिक सुरक्षामा आफूले विशेष ध्यान दिने बताए। ‘यसअघिको सरकारले सामाजिक सुरक्षाका विषयमा ल्याएका कार्यक्रमहरुलाई निरन्तरता दिँदै थप सामाजिक सुरक्षा कार्यक्रमहरु कार्यान्वयनमा ल्याउँछौं,’ उनले भने।

को हुन् नवनियुक्त मुख्यमन्त्री शाही?

अमेरिकाको एअरक्राफ्ट एभिएसन कम्पनीबाट पाइलट कोर्स सम्पन्न गरेर दुई वर्षसम्म जहाज चलाएका जीवनबहादुर शाही कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका छन्। पाइलटको जागिर छोडेर पूर्णकालिन राजनीतिमा होमिएका शाही नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। २०२१ साल फागुन २१ गते हुम्लाको खार्पुनाथ गाउँपालिकाको छिप्रामा मावली घरमा जन्मिएका शाही १६ वर्ष हुम्ला कांग्रेसको सभापति भए। त्यसयताका १६ वर्ष लगातार उनी कांग्रेस केन्द्रीय सदस्य छन्।

नेपाल विद्यार्थी संघको त्रि–चन्द्र क्याम्पस इकाई सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेका शाहीले कर्णाली हित समितिको सहसचिव, नेपाली कांग्रेस हुम्लाको संस्थापक सभापति, ११ औं महाधिबेशनबाट लगातार केन्द्रीय सदस्य छन्। नेपालीसँगै अंग्रेजी, हिन्दी, स्पेनीस, जर्मनी र लामाखाम भाषामा पोख्त छन्। नवनियुक्त मुख्यमन्त्री शाहीले अमेरिका, बेलायत, चीन, जापान, जर्मनी, अष्ट्रेलिया, थाइल्याण्ड, इटाली, भारत, स्पेन, नेदरल्याण्ड, फ्रान्स, इजरायल, टर्कीलगायत देशको भ्रमण गरेका छन्। मुख्यमन्त्री शाहीका श्रीमती बसन्तीकुमारी सिंह शाही र दुई छोरा तथा एक छोरी छन्।

छ वर्षको हुँदा बुढानिलकण्ठ स्कुल काठमाडौंमा अध्ययन गरेका शाहीले त्रिचन्द्र बहुमुखी क्याम्पसबाट आइएस्सी र त्रिभूवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा माष्टर डिग्री गरेका छन्। २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसबाट कर्णालीमा शाही मात्रै निर्वाचित भएका थिए। २०७३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा खानेपानी तथा सरसफाई मन्त्री भएका शाही २०७० मा हुम्ला जिल्लाबाट नेपाली कांग्रेसकोतर्फबाट संविधानसभा सदस्य, २०७० देखि २०७४ सम्म संसदको विकास समिति सदस्य र कर्णाली विकास उपसमिति संयोजक, २०६४ मा संविधानसभा सदस्य, २०५५ मा नेपाली कांग्रेसको तर्फबाट जिल्ला विकास समिति हुम्लाको सभापति भएका थिए।

स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको संस्थापक अध्यक्ष भएका शाही सामुदायिक रेडियो कैलाश हुम्लाको संस्थापक अध्यक्ष हुन्। यस्तै शुभचिन्तक बचत तथा सहकारी संस्थाको संस्थापक, रेडक्रस सोसाइटी हुम्ला र रेयूकाई नेपाल हुम्लाको संस्थापक पनि हुन्। उनले १० वर्षसम्म मानसरोवर नमूना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका थिए।

प्रकाशित: १६ कार्तिक २०७८ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App