७ वैशाख २०८१ शुक्रबार
राजनीति

वीपी प्रतिष्ठानमा पैसा लिएर पदाधिकारी नियुक्ती नगर्न नागरिक अगुवाहरुको माग

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्ती गर्दा पैसा लेनदेन हुने र त्यसले नै भ्रष्टचार बढाएको भन्दै यहाँका नागरिक अगुवाहरुले गठबन्धनको यो गलत कार्यलाई रोक्नुपर्ने माग गरेका छन्।

सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङसँग आइतबार धरान उपमहानगरपालिकामा आयोजित अन्तक्रियामा यहाँका नागरिक अगुवाहरुले यस्तो माग गरेका हुन्। उनीहरुले वर्तमान सरकारले पनि पदाधिकारी राजनैतिक भागबण्डा र पैसा लिएर नियुक्ती गरेमा प्रतिष्ठान कहिल्यै सुध्रन नसक्ने र जनताको नजरमा पनि सरकार, राजनीतिक दलहरु बदनाम भइरहेको चेतावनी पनि दिए।

धरान काठमाडौँ सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले पैसा बुझाएर पदाधिकारी नियुक्ती हुने प्रवृत्तिले प्रतिष्ठान धरासायी भएको बताए। उनले भने, ‘बढी पैसा दिने र आफ्नो मान्छे ल्याउने नगरौं। पैसा खाएर होइन, सक्षम मान्छे नियुक्ती हुनुपर्यो। हामीले गर्व गर्ने ठाउँ हो वीपी प्रतिष्ठान, यहाँ दुषित राजनीति नहोस्।’

धरान नागरिक दबाब सञ्जालका सदस्य एवं पूर्वप्राध्यापक हरिप्रसाद दाहालले पनि नियुक्तीमा हुने आर्थिक र राजनीतिक चलखेल बन्द गर्न माग गरे। उनले गलत मान्छेलाई कारबाही गर्ने र राम्रो मान्छेलाई पुरस्कृत गर्ने चलन प्रतिष्ठानमा बसाउन आवश्यक भएको पनि बताए। यसले राम्रो चिकित्सकहरु पलायन हुनबाट रोकिने उनको भनाइ थियो। प्रतिष्ठानको अनियमितताबारे भएको छानबिन प्रतिवेदनहरु कार्यान्वयन नभएकोमा पनि उनले चिन्ता प्रकट गरे। उनले भने, ‘रिपोर्ट चै बन्ने तर धमिराले खाउञ्जेल कसैले नहेर्ने प्रवृत्ति छोडेर यो सरकारले नयाँ ढंगबाट काम गर्नुपर्छ।’

सामाजिक अभियन्ता हर्क साम्पाङले पनि नियुक्तीको पैसाको खेल हुने र भ्रष्टचारको जड नै त्यही भएको दाबी गरे। प्रतिष्ठानको सेवाहरुमा धेरै सुधार हुनुपर्ने भन्दै उनले भने, ‘यहाँको स्वास्थ्य विमा सेवा चुस्त बनाएर निःशुल्क औषधी पाउने व्यवस्था हुनुपर्छ। आइसियु बेड थोरै छ, पहुँचवालाले मात्र पाउँछन्। त्यो पनि तत्काल थप गर्नुपर्छ। इर्मजेन्सीमा भुँइमा राखेर उपचार हुन्छ, क्षमता विस्तार गर्नुपर्छ, सरसफाईमा ध्यान दिनुपर्छ ।’ उनले पेइङमा उपचार गर्न जादा तत्काल हुने तर जनरलबाट उपचार गर्न जाँदा अप्रेशन गर्न २, ३ महिना लाग्ने उल्लेख गर्दै प्रतिष्ठानको सेवा पनि जनताको पहुँचबाट बाहिर भइसकेको बताए। प्रतिष्ठान प्राइभेट क्लिनिक भएको भन्दै उनले राज्यले बिशेष ध्यान दिन पनि आग्रह गरे।  

सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले प्रतिष्ठानमा पदाधिकारीहरु खाली भएमा नियुक्ती गर्दा पैसाको चलखेल नहुने दाबी गरे। उनले विगतमा के भएको भन्ने आफुलाई थाह नभएको भन्दै वर्तमान सरकारले सक्षम र योग्य व्यक्तिलाई नै नियुक्ती गर्ने पनि बताए। ‘नियुक्तीमा पैसाको कुरा धेरै उठ्यो, पहिला के भएको हो त्यो थाह छैन। तर, अब नियुक्ती भएर आउनेमा त्यस्तो हुदैन,’मन्त्री खापुङले भने,‘पदाधिकारी खाली भएमा सक्षम र योग्य मान्छे नै नियुक्ती हुन्छ। वीपीलाई केन्द्र र स्थानीय सरकार मिलेर सुधार गरौं।’

प्रकाशित: १४ कार्तिक २०७८ १४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App