६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

फेरि सर्‍यो कांग्रेस महाधिवेशन: नेता मिलाउन सहमहामन्त्री थप्ने रणनीति

नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति फेरि सारिएको छ। यसअघि केन्द्रीय समितिले मंसिर ९ देखि १३ का लागि तोकेको महाधिवेशन कार्यतालिका बिहीबार केन्द्रीय निर्वाचन समितिले २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्नेगरी सारेको हो।

विधानअनुसार चार वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्नेमा कांग्रेसले साढे पाँच वर्षभन्दा बढी समय गुज्रिसक्दा पनि गर्न सकेको छैन। यसअघि आधा दर्जन पटकजति महाधिवेशन मिति संशोधन भइसकेको छ। पछिल्लोपटक कांग्रेस पदाधिकारी बैठकले संशोधित कार्यतालिका ल्याउन निर्वाचन समितिलाई जिम्मा दिएको थियो।

निर्वाचन समितिको विज्ञप्तिमा अब मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने उल्लेख छ। तर, केन्द्रीय नेतृत्व चयन प्रक्रिया भने मंसिर २१ बाटै सुरु हुने विज्ञप्तिमा जनाइएको छ।

रसुवा र रौतहटमा क्रियाशील सदस्यता विवाद सुल्झन नसकेको अवस्थामा संशोधन गरिएको महाधिवेशन कार्यतालिका अनुसार सातवटै प्रदेशको अधिवेशन मंसिर १६ र १७ गते हुनेछ। रसुवा र रौतहटबाहेक अन्य जिल्लाको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले पालिका अधिवेशन सकेका ४६ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन मंसिर ३ का लागि तोकेको छ। त्यस्तै, प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र भएका जिल्ला र क्षेत्रको अधिवेशन मंसिर ६ र जिल्ला अधिवेशन १० गते हुनेछ।

सोलुखुम्बु, दार्चुला र म्याग्दीको प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २७ र जिल्ला अधिवेशन मंसिर १ गते तोकिएको छ। जुम्ला जिल्ला अधिवेशन पनि सोही दिन हुनेछ। अहिलेसम्म कुनै तहको पनि अधिवेशन सुरु नभएको प्रदेश २ को रौतहटबाहेकका सातसहित १२ जिल्लाको वडा अधिवेशन कात्तिक २७ गते तोकिएको छ। कात्तिक ३० गते पालिका तहको अधिवेशन हुनेछ। मंसिर ३ गते प्रदेशसभा क्षेत्र, ६ गते प्रतिनिधिसभा क्षेत्र र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन तोकिएको छ। मंसिर १० गते जिल्ला अधिवेशन गर्न भनिएको छ। योसँगै मंसिर ३, ६ र १० गते ५८ जिल्लामा एकैसाथ प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन हुनेछ।

सहमहामन्त्री थप्ने रणनीति  

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा सहज बनाउन तीन सहमहामन्त्री थप गर्ने पक्षमा देखिएका हुन् ।

दुवै समूहका दोस्रो तहका नेताहरूले सभापतिमै प्रतिस्पर्धा गर्ने जनाउँदै तयारी गरिरहेका बेला सहमहामन्त्रीको पद थप गरेर निकट नेताहरूलाई आफ्नै समूहमा व्यवस्थापन गर्ने रणनीति देउवा र पौडेलले लिएको स्रोतको दाबी छ।

सहमहामन्त्री थप गर्दा पद नपाएर अर्को समूहमा जानसक्ने नेताहरूलाई रोक्न सकिने दुवै नेताहरूको बुझाइ छ। यसबाट सभापतिको प्रत्यासी बन्ने घोषणासहित तयारीमा जुटेका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कमजोर हुने बुझाइमा देउवा र पौडेल रहेको एक नेताले बताए।

सहमहामन्त्रीका आकांक्षी नेताहरूको व्यवस्थापन गर्न नसके निधि, सिटौलासहितका समूहबाट महामन्त्रीको प्रत्यासी बन्नसक्ने बुझाइ देउवा र पौडेलको छ। यस्तो हुन नदिन सहमहामन्त्रीको संख्या बढाउने पक्षमा देउवा र पौडेल रहेका छन्।

देउवा सहमहामन्त्रीको पद बढाएर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्मासहितका नेतालाई आफ्नै समूहमा समेट्ने पक्षमा छन्। शर्मासहितका संस्थापन पक्षका अन्य नेतालाई समेट्न नसक्दा उनीहरू निधि समूहमा जानसक्ने बुझाइमा देउवा रहेको निकट स्रोतको दाबी छ।

कम्तीमा तीन सहमहामन्त्री थप हुँदा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, सुनिलबहादुर थापा, विश्वप्रकाश शर्मासहितका नेतालाई महामन्त्री र सहमहामन्त्रीमा राखेर टिम निर्माण गर्न सकिने देउवासहित उनी निकट नेताहरूको बुझाइ छ। यसबाट सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका निधि थप कमजोर हुने उनीहरूको विश्लेषण छ। संस्थापन पक्षका गोपालमान श्रेष्ठले पनि सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन्।

त्यस्तै, संस्थापन इतर समूहबाट आधा दर्जन नेताले सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका छन्। तर, संस्थापन इतर पक्षबाट सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला एकअर्कालाई मान्न तयार नहुने र अन्तिममा यो समूहबाट आफू सभापतिको उम्मेदवार बन्ने विश्लेषणमा नेता पौडेल छन्।

१३औं महाधिवेशनमा तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन पक्षबाट विद्रोह गरेपछि सभापति हुन नसकेका पौडेल यसपटक उनलाई साथ दिएका नेताहरूलाई आफ्नो समूहमा तान्ने रणनीतिमा छन्।

त्यतिबेला सिटौला समूहबाट महामन्त्रीको प्रत्यासी बनेका गगन थापा अहिले आफ्नो पक्षमा आएको बुझाइमा पौडेल छन्। सहमहामन्त्री पद थपेर सिटौलालाई साथ दिइरहेका प्रदीप पौडेलसहितलाई आफ्नो समूहमा समेट्ने रणनीतिमा नेता पौडेल छन्।

महामन्त्रीको प्रत्यासी बन्ने घोषणा गरेका प्रदीप पौडेललाई आफ्नो समूहमा ल्याएर सहमहामन्त्रीमा मनाउने पक्षमा नेता पौडेल छन्। सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका प्रकाशमान र शेखरलाई उपसभापतिमा मनाउने पौडेलको तयारी छ।

मीनेन्द्र रिजाललाई महामन्त्रीमा अघि सार्ने पौडेलको चाहना छ। थापालाई पनि महामन्त्री बनाउन पौडेलमाथि दबाब परेको जानकारी दिँदै स्रोतले भन्यो, ‘अन्य सिनियर (वरिष्ठ) नेताको व्यवस्थापनलाई पनि ध्यानमा राखेर थापालाई सहमहामन्त्री वा महामन्त्रीमा समेटेर टिम बनाउनुपर्छ भन्नेछ।’

अहिलेसम्म संस्थापन इतर पक्षबाटै सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका शशांक, प्रकाशमान, शेखरसहितका नेताले आफ्नो दाबी छाडेका छैनन्। उनीहरू पनि उपसभापति, संसदीय दलको नेतासहित आगामी प्रधानमन्त्रीकारूपमा प्रस्ताव गरेर एकअर्कालाई मनाउने रणनीतिमा छन्।

कांग्रेसमा हाल सभापति, दुई/दुई उपसभापति र महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ। कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने विधानको व्यवस्था भए पनि आठ सहमहामन्त्री समावेशी सिद्धान्तका आधारमा चुनिन्छन्।

प्रकाशित: १२ कार्तिक २०७८ ००:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App