१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आज देशभरका वडामा एमाले अधिवेशन

एमाले महाधिवेशन प्रक्रियामा होमिएको छ। एमालेले देशभरका ६ हजार सात सय ४५ वडामा शनिबार अधिवेशन गर्दैछ। 

स्थायी कमिटीको बिहीबार र शुक्रबारको बैठकले शनिबार हुने वडा अधिवेशनबाट सकेसम्म सर्वसम्मत र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न मातहतका सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।

एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट देशभरका सबै वडामा एकसाथ अधिवेशन उद्घाटन गर्नेछन्। वडा अधिवेशनका लागि सबै जिल्ला कमिटीका बैठकले प्रतिनिधि खटाइसकेका छन्। कात्तिक २ देखि ४ गतेसम्म बसेका जिल्ला कमिटीका बैठकले वडा अधिवेशनमा प्रतिनिधि खटाएका हुन्। ६ हजार ७ सय ४५ वडामा शनिबार हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। 

वडा, गाउँ र नगरमा अधिवेशन गरेर कांग्रेसले आफ्नो संगठन चलायमान बनाएसँगै एमालेले पनि अधिवेशन गर्न लागेको हो। एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा दसौं महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसअगाडि वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गरिनेछ।

अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनको औपचारिक उद्घाटन गर्नुहुनेछ’, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने।

वडा अधिवेशन तथा नेतृत्व चयन विधिबारेमा केन्द्रबाट सामन्य मापदण्ड पठाइएको छ। वडापछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ।

एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष ओलीले एकैपटक भर्चुअल रुपमा अधिवेशन उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी मिलाएको छ। केन्द्रीय कार्यालयमा तयार वार रुमबाट भर्चुअल उद्घाटन हुनेछ। 

एमाले विधानअनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकाय हो। त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट मात्र हुन्छ।

वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन्। कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ। वडा अधिवेशनबाट विधान अधिवेशनबाट पारित विधान कार्यान्वयमा आउने भएको छ।

चितवनमा हुने दसौं महाधिवेशनअघि एमालेले स्थानीय तहमा नेतृत्व चयन गरेर आफूलाई चुस्त दुरुस्त रहेको सन्देश दिन खोजेको छ। चितवनबाट एमालेले पाँच वर्षका लागि केन्द्रीय नेतृत्व चयन गर्नेछ। नयाँ विधानअनुसार एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित २२५ केन्द्रीय सदस्यहरूको चयन हुनेछ। 

प्रथम विधान महाधिवेशनबाट संशोधनसहित पारित विधानमा वडा, पालिका र जिल्लामा कसरी नेतृत्व चयन गर्ने भन्ने प्रष्ट उल्लेख छ। विधानअनुसार पार्टी सदस्यता लिएको १० वर्ष पुगेपछि मात्रै केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न पाइनेछ। 

तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा भने यो अवधि ७ वर्ष भए पुग्नेछ। संशोधित विधानअनुसार स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रमा नेतृत्व चयन हुनेछ। पार्टी सदस्यता लिएको १० पुगेका नेता–कार्यकर्तामात्रै महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुन पाउने विधानमा व्यवस्था छ।

एमाले स्थायी कमिटीले दसौं महाधिवेशन व्यवस्थापन कमिटीलाई पूर्णता दिएको छ। ‘महाधिवेशन व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको छ। कमिटीमा सहसंयोजक सुरेन्द्र पाण्डे, सचिव विष्णु रिमाल र सदस्यहरूमा पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दीपक देवकोटा छन्। एक सदस्य पछि मनोनयन गरिने छ’, पार्टी प्रवक्ता ज्ञवालीले भने। उनका अनुसार राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चयन गर्ने प्रयोजनका लागि प्रक्रियामा सहभागी हुन २०७७ साल चैत मसान्तभित्र सदस्यता प्राप्त गरेका पार्टी सदस्य योग्य हुनेछन्।

राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग हुने एमालेले जनाएको छ। यस मेसिनको प्रयोगका लागि महाधिवेशन प्रतिनिधिलाई विशेष प्रशिक्षणको व्यवस्था गरिनेछ। यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन केन्द्रीय निर्वाचन आयोगलाई अनुरोध गरिएको छ। राष्ट्रिय महाधिवेशन प्रक्रियासम्बन्धी मापदण्ड तय गर्नेलगायत विषयमा आवश्यक निर्णय लिन कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने एमालेले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७८ ००:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App