१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसीसी जस्ताकाे तस्तै पास हुन्छ: देउवा

धनगढीमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिरः नागरिक

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएका छन्। बाढी पहिरोले सुदूरपश्चिममा क्षति पुर्‍याएपछि क्षतिको अवलोकन गर्न यहाँ पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एमसीसी अुनदानमा आधारित परियोजना नेपालको कानुन मातहत हुने भएकाले संसदबाट सिधै पास हुने बताएका हुन्।  

‘एमसीसी पास हुन्छ, यसमा संशोधन गर्नुपर्ने केही कुरै छैन,’ प्रधानमन्त्री देउवाले भने,‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानुनभन्दा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ, एमसीसी पनि अनुदान हो, उनीहरुले नै यसमा नेपालकै कानुन लागू हुने बताएका छन्।’

पत्रकार सम्मेलनमै देउवाले बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा ठूलो क्षति पुर्‍याएकाले सरकारले चाँडै अल्पकालीन र दीर्घकालीन राहत तथा पुनर्निमाणका योजना ल्याउने बताए। ‘सुदूरपश्चिममा ठूलो मानवीय क्षति भएको छ, पूर्वाधार क्षतविक्षत भएका छन्, बाटो घाटो छैन, किसानको धानबालीमा ठूलो क्षति भएको छ,’ देउवाले भने,‘यो सबै देखेको छु, अब रातहको प्याकेज ल्याउँछौ।’ उनले पूर्वमा पनि यस्तै क्षति भएको बताउँदै आफू सुदूरको भ्रमणपछि पूर्वमा पनि जाने बताए।  

एक अर्को प्रश्नमा प्रधानमन्त्री देउवाले अर्ली निर्वाचन बारे गठबन्धन सरकारले जे भन्छ त्यही हुने बताए। ‘मैले एक्लैले भनेर केही हुँदैन, गठबन्धन सरकार छ,’ उनले भने,‘गठबन्धनले जे भन्छ त्यही हुन्छ।’प्रधानमन्त्री देउवा आज कञ्चनपुरका बाढी पीडितको अवस्था बुझ्न धनगढीबाट हिँडेका छन्। कञ्चनपुरपछि उनी कैलालीको पूर्वी क्षेत्र टीकापुर जाने कार्यक्रम रहेको छ।

प्रकाशित: ५ कार्तिक २०७८ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App