७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले–माओवादीलाई महाधिवेशनको चटारो

सत्ताबाहिर रहेको नेकपा एमाले र सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन्। दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन्। दसैं सकिएसँगै यी दुई पार्टीले संगठन विस्तार र महाधिवेशन केन्द्रित कार्यक्रम तय गरेका हुन्।

एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने सो दलका कार्यालय सचिव शेरबहादुर तामाङले बताए। यसका लागि सबै जिल्ला कमिटीका बैठक बस्ने भएका छन्। 

कात्तिक २ देखि ४ गतेसम्म जिल्ला कमिटीका बैठक बसेर ६ गते हुने वडा अधिवेशनमा जिल्लाबाट प्रतिनिधि खटाउन लागिएको छ। मंसिरमा हुने महाधिवेशनअगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गर्दैछ।  

कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहमा अधिवेशन हुने एमालेले जनाएको छ। अधिवेशन तथा नेतृत्व चयन विधिबारे केन्द्रबाट मापदण्ड पठाइने तामाङले बताए। ‘वडा र स्थानीय तहको अधिवेशनका लागि केही मापदण्ड केन्द्रबाट जान्छ, बाँकी जिल्ला कमिटीले विधानअनुसार निर्णय गर्छ’, उनले भने। तामाङका अनुसार एमालेले गाउँ र नगरपछि जिल्ला अधिवेशन पनि गर्नेछ।

एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सय वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी गरेको छ। एमालेको विधानअनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकाय हो। त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छ। 

वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्य अधिवेशनबाट निर्वाचित हुने तामाङले बताए। कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ। वडा कमिटीको अधिवेशनबाट विधान अधिवेशनबाट पारित विधान कार्यान्वयमा आउने भएको छ।  

एमालेको महाधिवेशन मंसिरमा बुटवलमा हुने बताइएको छ। बुटवलबाट एमालेले पाँच वर्षका लागि चयन गर्नेछ। महाधिवेशनले नयाँ विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित २२५ केन्द्रीय सदस्य चयन गर्नेछ।

उता मंगलबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ। बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरेको हो। 

प्रवक्ता कृष्णबहादुर महराले दिएको जानकारीअनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म तोकिएको छ। यस्तै टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन्। मंसिर ४ गतेसम्म वडा सम्मेलन गरिसक्नुपर्नेछ। 

गाउँपालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म, प्रदेश सम्मेलन मंसिर २५ सम्म सक्न मातहत कमिटीलाई सर्कुलर गरिएको छ। माओवादी केन्द्रले पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने भएको छ। सम्मेलनको तयारीका क्रममा माओवादी केन्द्रले देशव्यापी रुपमा संगठन चलायमान बनाउन थालेको हो।

प्रकाशित: ३ कार्तिक २०७८ ००:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App