coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमसिसी अनुमोदन भए देश खरानी हुन्छ : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसिसी)ले देश खरानी हुने बताएका छन्। सांसद सुवालले अमेरिका पुगेका देशहरू लिविया, इराक, अफगानिस्तान ध्वस्त भएको चर्चा गर्दै एमसीसी सम्झौताले नेपाल पनि त्यही हालतमा पुग्ने सम्भावना रहेको औंल्याउँदै देश खरानी हुने बताएका हुन्।

चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीमा पार्टीको वडा समितिले गरेको कार्यक्रममा सांसद सुवालले एमसिसी सम्झौताले देशको विकास नभई विनास हुने बताए। उनले अमेरिकी साम्राज्यवादको चंगुलमा नेपाललाई फसाएर नेपालमा मात्र नभई पूरा एसियामै युद्ध थोपर्न खोजिरहेको उनको भनाइ छ। उनले अमेरिकी साम्राजयवादको स्वार्थ पूर्तिका लागि नेपाललाई एमसिसी सम्झौता गराउन दबाब दिइरहेको बताउँदै अमेरिकी साम्राज्यवादको प्रवेशले देश हित नहुने बताए।

‘नेपाल सरकारले अमेरिकी सेनामार्फत् काम गर्नुपर्ने यो सम्झौता देशघाती नै हो। यो सम्झौता संसदबाट अनुमोदन गर्नु अमेरिकी नेतृत्वको हिन्द–प्रशान्त सैन्य गठबन्धनमा नेपाल संलग्न हुनु हो’ उनले भने, ‘ यो सम्झौतालाई संसद्बाट अनुमोदन गराउनु नेपालको सार्वभौमिकतामाथि अमेरिकी तथा भारतीय हस्तक्षेप स्वीकार गर्नु हो।’ उनले नेपालका शासक दलहरुले एमसिसीको विषयबारेमा जनतालाई उचित जानकारी नदिनुको पछाडि एमसिसीको समर्थन रहेको जनाउँदै अमेरिका जसरी भए पनि एमसिसी अनुमोदन गराउने खेलमा लागिपरेको चर्चा गरे।

सहयोग र अनुदानको भरमा देशको विकास नहुने भएकाले देशलाई आत्मनिर्भर बनाउनतिर सरकारले उचित ध्यान नदिँदा नेपाली जनताहरु निराश हुन बाध्य भइरहेको उनको भनाइ थियो। सोही कार्यक्रममा उनले एमसिसी सम्झौता देशघाती भएकाले पार्टीले देशभर विरोध कार्यक्रम गरिरहेको जनाए। उनले नेपाली शासक दलहरु कर्पोरेटमा परिणत भएकाले अहिले आम जनताको पक्षमा भन्दा पनि कर्पोरेटहरुकै पक्षमा नीति निर्माण भइरहेको समेत बताए।  

‘अमेरिकी साम्राज्यवादले सन् २००१ देखि अमेरिकी सैन्य गठबन्धन विस्तार गर्ने लक्ष्यसहित सहयोग र अनुदान दिने गरेको र अमेरिकी सरकारको दस्तावेजअनुसार एमसिसी सम्झौता अमेरिकी सैन्य गठबन्धन नै हो।’ सरकारमा गएका दलहरूले दस्तावेज अध्ययन नगरी एमसिसी सम्झौता गरेको हुँदा दक्षिण एसिया युद्धको थलो बन्ने जोखिम रहेकोतर्फ नेपाली जनता सचेत बन्नुपर्ने उनले औँल्याए। पचास करोड डलर सहयोगको निम्ति देशलाई अमेरिकी साम्राज्यवादको पोल्टामा राख्न नहुनेमा उनको जोड थियो।  

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सांसद सृजना सैंजूले अमेरिकी साम्राज्यवादको विरोधमा नेमकिपाले स्थापनाकालदेखि नै सङ्घर्ष गर्दै आएको चर्चा गरिन्। उनले अमेरिकाले पाइला राखेको विश्वका धेरै देशमा विध्वंस र युद्ध भएको  चर्चा गर्दै संसारबाट साम्राज्यवादी शक्तिको समाप्ति नहुँदासम्म सङ्घर्ष जारी राख्नुपर्नेमा जोड दिइन्।

बाग्मती प्रदेशका सदस्य सैँजूले अफ्रिकी देशलाई अमेरिकी साम्राज्यवादले सहयोग गर्ने नाउँमा उपनिवेश बनाएको सन्दर्भ जोड्दै एसियामा पनि अमेरिकी साम्राज्यवाद विभिन्न बहानामा पस्न खोजेको बताइन्।  

कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय संयोजक प्रकाश गुरुङ, नेमकिपा ताथलीका गणेश त्यात, नेक्रायुसंघ ताथलीका उत्तम साखकर्मी र हरिसुन्दर छुकांलगायतले एमसिसीको विरोधको औचित्यताबारे धारणा राखेका थिए। विरोध सभाअघि फैढोकाबाट पण्डितको पँधेरो, गोठालेचौर हुँदै ताथलीको खर्कपुलसम्म जुलुस गरिएको थियो।

प्रकाशित: १६ आश्विन २०७८ १४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App