२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सुनसरीमा सभापतिका लागि श्रेष्ठ र भण्डारीबीच प्रतिस्पर्धा

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि सुनसरीमा जिल्ला नेतृत्वका लागि अहिलेका उप(सभापति सञ्जय श्रेष्ठ र सचिव केदार भण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ। श्रेष्ठ देउवा समूहका हुन् भने भण्डारी संस्थापन इतर समूह(वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला) समूहका हुन्।

गुटगत रुपमा प्यानल खडा गरेर जिल्लाका निम्ति मतदातासमक्ष भोट माग्न व्यस्त भएका छन्। नेपाली काँग्रेसको गाउँ/नगरको अधिवेशनबाट सुनसरीमा १२ वटा स्थानीय तह रहेकोमा ११ वटामा सकिएको छ। एउटा भोक्राहा नरसिंहमा भने देउवा पक्षीय र संस्थापन इतर समूहबीच विवाद र झडप भएकाले गर्दा स्थगित भएको छ।  

सभापतिका लागि प्रतिस्पर्धामा उत्रिएका श्रेष्ठले नेपाल विद्यार्थी संघ काठमाडांै सुनसरी सम्पर्क समितिबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। २०५४ सालमा तरुण दल जिल्ला सचिव र २०५७ सालमा सभापति भएका उनले नेपाली काँग्रेस विभाजन भइ बनेको प्रजातान्त्रिक काँग्रेसको जिल्ला कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। कोषाध्यक्षपछि कुनै पदमा नरहेका उनी पछिल्लो समय उपसभापति बनेका हुन्।

देउवा पक्षका नेता विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, मिन विश्वकर्मा, नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगाना, पूर्व राज्यमन्त्री सीताराम मेहतालगायतको श्रेष्ठका पक्षमा सक्रिय रुपमा लागेका छन्।  

यस्तै, दुई कार्यकाल सचिव भइसकेका भण्डारी जिल्लाका तल्लो तहका कार्यकर्तासँग घुलमिल भएका नेता हुन्। जिल्लाका नेतामध्ये चलाख नेताको रुपमा चिनिन्छन्। २०४३ सालमा नेविसंघबाट राजनीति सुरु गरेका भण्डारी २०५४ सालमा कानुन व्यवसायीहरुको संस्था नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष भए। उनी २०५६ सालमा प्रजातान्त्रिक कानुन व्यवसायी संघको केन्द्रीय अध्यक्ष हुँदै नेपाली काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा जिल्ला सचिव निर्वाचित भएका हुन्।  

उनको पकड तरुण दल, किसान संघ र महिला संघमा बलियो छ। अहिलेका सभापति राजीव कोइराला, पूर्व गृह राज्यमन्त्री हरि सापकोटालगायतले भण्डारीका पक्षमा माहोल बनाउन सक्रिय रुपमा जुटेका छन्।

त्यसो त देउवा समूहबाट सीताराम मेहता सर्वसहमत भए सभापति हुने लाइनमा छन्। तर, सर्वसम्मत हुने सम्भावना न्यून छ। भण्डारी र श्रेष्ठबीच पनि सहमति हुने सम्भावना नभएको तर सीतारामले आफू सिनियर भएको हिसाबमा दुवैलाई छाड्न कार्ड फ्याके पनि त्यो पनि सम्भावना नभएको जिल्लाका अगुवा नेताले बताएका छन्।

प्रकाशित: १६ आश्विन २०७८ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App