८ वैशाख २०८१ शनिबार
राजनीति

आज सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध हटाउने विषयमा छलफल गर्न बिहीबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालनमा देखिएको अवरोध हटाउने विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन्।  

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ। 

संसद्को अवरोध खुलाउन प्रधानमन्त्री देउवाले कानुन तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पटकपटक प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी ओलीलाई भेट्न पठाइसकेका छन्। ओली सहज रूपमा संसद् बैठक चल्न दिन सकारात्मक नदेखिएपछि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।  

बैठकमा प्रमुख प्रतिपक्षी एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ। संसद्मा जारी अवरोधसहित मुलुकको पछिल्लो अवस्थाका विषयमा नेताहरूको धारणा बुझ्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएको निकट स्रोतको दाबी छ।  

यसअघि संसद्को गतिरोध हटाउन सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाए पनि प्रमुख प्रतिपक्षी एमाले सहभागी भएको थिएन। 

उसले नेकपा एमालेका तत्कालीन १४ सांसदलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै २३ भदौबाट संघीय संसद् बैठकमा निरन्तर अवरोध खडा गर्दै आएको छ। अवरोधबीच संसद्ले आर्थिकसहितका केही विधेयक पारित गरेको छ। संसद् बैठक बिहीबार पनि राखिएको छ। 

प्रकाशित: १४ आश्विन २०७८ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App