२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेको बैठक सम्पन्न, पहिलो पार्टी बनाउने निष्कर्ष

नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक तीनओटा प्रतिवेदन पारित गर्दै सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गर्दै बैठक सकिएको हो।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज १५ गते हुने विधान महाधिवेशनमा पाँच हजारको संख्यामा नेता, कार्यकर्ता सहभागी हुने बताए। ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ गते सुरु हुने विधान अधिवेशन ३ दिन चल्ने उनको भनाइ छ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी सदस्य, प्रत्येक केन्द्रीय विभागबाट ५ जना, प्रत्येक जनसंगठनका पदाधिकारी र वरिष्ठ सदस्यमध्येबाट १० जना, जिल्ला कमिटीका पदाधिकारी, प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रबाट अनिवार्य १ जना महिला, प्रत्येक जिल्लाबाट १ जना दलित, प्रतिनिधी सभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र एकतामा सामेल भएका व्यक्तिहरु सहभागी हुनेछन्।

बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक हिसाबले एकतावद्ध र सुदृढ बनाउने निर्णय गरेको पनि उनले बताए। आगामी संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने निष्कर्ष पनि पारित भएको प्रतिवेदनले निकालेको छ।  

एमाले केन्द्रीय कमिटी बैठकले सरकारले पारित गरेको प्रतिस्थापन विधेयकमा स्रोत नखुलेको सम्पतीलाई खुला गर्ने नीति लिएको भन्दै त्यसको विरोध गरेको छ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनलाई उल्लंघन गरेको एमालेको ठहर रहेको छ। यसलाई तत्काल फिर्ता गर्न पनि एमालेले माग गरेको भट्टराईले बताए।  

एमालेले आगामी दिनमा प्रशिक्षणहरुलाई नियमित गर्ने र पार्टी स्कूलहरुलाई नियमित सञ्चालन गर्ने समेत पारीत गरिएको प्रतिवेदनमा उल्लेख गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

प्रकाशित: १० आश्विन २०७८ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App