coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकी सरकारको सय दिनः नियमित काम मात्र

गण्डकी प्रदेश सरकारको एक सय दिनको उपलब्धी सार्वजनिक गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल । तस्बिर : उमेश पुन/नागरिक

नव गठित गण्डकी प्रदेश सरकारले एक सय दिन पूरा गरेको छ । गत जेठ २९ गते नेपाली कांग्रेसको नेतृत्वमा बामपन्थी प्रजातान्त्रिक गठबन्धनको सरकार बनेको थियो । एमाले सरकार ढालेर बनेको यो सरकारले आईतबार एकसय दिन पूरा गरेको हो । ‘हनिमून पिरियड’को रुपमा हेरिने सय दिनमा सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनैपनि कार्य गरेको छैन ।

तर गण्डकी प्रदेश सरकारले भने सरकारको नियमित कामलाई नै सरकारको उपलब्धीको रुपमा ब्याख्या गरेको छ । गण्डकी प्रदेश सरकारले सोमबार पत्रकार सम्मेलन गरि नियमित गरिएका कामहरुलाई सरकारको उपलब्धीको फेहरिस्त सार्वजनिक गर्दै यसलाई उपलब्धीको रुपमा ब्याख्या गरेको हो ।

प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि गरिएका कामलाई प्रमुख उपलब्धी मानेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हालसम्म गण्डकी प्रदेशका ६ लाख १० हजार ४ सय ३० जनालाई पहिलो डोज खोप र ४ लाख ५३ हजार ८ सय ९७ जनालाई दोश्रो डोज कोरोना विरुद्ध खोप लगाइसकिएको बताए । उनले मनाङ र मुस्ताङ जिल्लाका खोप लगाउने उमेर समूहका सबैलाई कोरोनाबिरुद्धको खोप लगाई पूर्णखोप जिल्ला घोषणा गरिएको जानकारी दिए ।

कोभिड–१९ को तेश्रो लहर रोक्नका लागि पनि तयारी गरिएको पनि उनले दाबी गरे । त्यसका लागि प्रदेश भित्रिने नाका तनहुँको आँबुखैरेनी, पाल्पा र स्याङजाको सिमाना राम्दी र नवलपुरको दाउन्नेमा चेकपोस्ट राखेर यात्रुको स्वास्थ्य परीक्षण गर्ने तयारी भएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए । उनले त्यहाँ परीक्षण गर्दा कोरोना पोजिटिभ भएको पाइए छुट्टै राखेर उपचार गर्ने ब्यबस्था मिलाइएको बताए । त्यस्तै, तेश्रो लहरमा बालबालिका प्रभावित हुने सम्भावनाको आंकलन गरिएकाले उनीहरु लक्षित गरेर उपचारका लागि अस्पतालमा बेड तयार गरिएको उनले बताए ।

प्रदेश सरकारले सरकार गठन भएकै दिन घोषणा गरेको महिलामा लाग्ने स्तन क्यान्सर, पाठेघर क्यान्सर तथा मुख क्यान्सरको निःशुल्क उपचार गर्ने घोषणा अनुसार सो कार्यान्वयनको चरणमा रहेको जनाएको छ । त्यस्तै, गण्डकी प्रदेशका सडकलाई मानवमुक्त सडक बनाउने अभियान सञ्चालन भइरहेको जनाएको छ । जसका लागि सडक आश्रित सहयोगापेक्षी मानव उद्धार, पुर्नस्थापना तथा ब्यबस्थापन कार्यविधी २०७८ स्वीकृत गरेर कार्यान्वयनमा गइसकेको मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।

सरकारले प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाउने तयारी पूरा भई घोषणाको तयारी भइरहेको जनाएको छ । प्रदेश सरकारले मोडल भेटेरिनरी अस्पताल कास्की र तनहुँमा निर्माणको काम शुरु भएको भन्दै यसलाई पनि सरकारको उपलब्धीको रुपमा प्रस्तुत गरेको छ ।

प्रदेश सरकारले यो एकसय दिनमा २० किलोमिटर कालोपत्रे र १० किलोमिटर ग्राभेल सडक निर्माण गरेको जनाएको छ । त्यस्तै गण्डकी प्रदेशका २९० वटा तालको तथ्यांक प्रतिवेदन तयार गरेको, फेवातालले चर्चेको जग्गाको बिस्तृत प्रतिवेदन तयार गरि संघ सरकारलाई बुझाएको भन्दै यसलाई पनि प्रदेश सरकारको उपलब्धीको रुपमा उल्लेख गरेको छ ।  

प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरेको जनाएको छ । जनयुद्धका सहीद, घाईते, अपाङ्ग, बेपत्ता परिवारका लागि निःशुल्क उपचारको ब्यबस्था गरेको भन्दै यसलाई पनि सरकारको एक सय दिनको उपलब्धीमा प्रस्तुत गरेको छ । पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री पोखरेलले एकसय दिन एकदमै कम समय भएकाले दीर्घकालीन प्रभाव राख्ने काम हुन नसकेको बताए । उनले जनतालाई केन्द्रविन्दुमा राखेर दैनिक सेवा दिने, समग्र विकास प्रक्रियालाई गति दिन सरकार क्रियाशिल रहेको उल्लेख गरे ।

प्रकाशित: ४ आश्विन २०७८ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App