१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले नेता नेम्बाङ गाईघाटमा

नेकपा (एमाले) नेता तथा पूर्व सभामुख सुबासचन्द्र नेम्बाङ उदयपुर आएका छन्। पार्टी जिल्ला कमिटीले बुधबार सदरमुकाम गाईघाटमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेता नेम्बाङ विहान १० बजे आईपुगेको एमालेले जनाएको छ।  

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले बिद्रोह गर्दै नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजबादी) गठन गरेपछि छिन्नभिन्न भएका कार्यकर्तालाई थुमथुमाउन एमालेले कार्यकर्ता भेलाको आयोजना गरेको जनाइएको छ। सदरमुकामको हवाईफिल्डस्थित निर्माणाधीन मदन भण्डारी सभाहलमा आयोजित भेलामा सहभागी हुन पार्टी नेता कार्यकर्ताहरु गाउँगाउँबाट आएको एमालेले जनाएको छ। पार्टी विभाजन भए पनि ०७५ जेठ २ गतेको अवस्थामा फर्काउदै उदयपुर एमालेले इश्वरमणि राउतलाई अध्यक्ष मानेर पुनारो कमिटी व्युँत्याएको छ।  

एमाले समाजवादीमा गएका जिल्ला कमिटी सदस्यहरुको ठाउँमा नयाँ सदस्य पदपूर्ति गर्ने निर्णय पनि भेलाबाट गर्ने योजना रहेको पार्टीले जनाएको छ। भेला बृहत बनाउने उदेश्यले धेरैभन्दा धेरै कार्यकर्ता सदरमुकाम बोलाइएको छ। यसअघि पार्टी सचिव भीम आचार्य र पूर्व मुख्यमन्त्री शेरधन राई पनि आउने चर्चा भए पनि अन्तिममा नेम्बाङ र १ नं. प्रदेशका पूर्व आन्तरिक मामिलामन्त्री हिक्मत कार्की र केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री मञ्जुकुमारी चौधरी आएका छन्।  

विभाजनपछि अधिकांश नेता कार्यकर्ता कुनै पक्षमा नलागी बीच धारमा रहेका छन्। उनीहरुमध्ये कोको नेता कार्यकर्ता एसमा गए वा एमालेमै छन् भन्ने प्रष्ट हुन भेला आयोजना गरिएको हो। यसअघि जिल्लामा राम्रो प्रभाव रहेको एमालेबाट गत ०७४ को स्थानीयतह चुनावमा ८ पालिकामध्ये ६ वटामा मेयर, अध्यक्षसाहित ३ सय १८ जनप्रतिनिधि विजयी भएका छन्। जसमध्ये त्रियुगा नगरप्रमुख र उदयपुरगढी गाउँपालिका अध्यक्षसहित २८ जनाले एसमा सनाखत गरेका छन्।

गत चुनावमा चौदण्डीगढी नगरपालिकाबाहेक त्रियुगा, कटारी र बेलका तथा गाउँपालिकामध्ये लिमचुङबुङबाहेक उदयपुरगढी, रौतामाई र ताप्लीमा अध्यक्ष, उपाध्यक्षसहित बहुमत एमालेको कब्जामा परेको थियो। १० वटा वडा रहेको चौदण्डीगढीमा १ वडाध्यक्ष एमाले र २ वडाध्यक्ष नेकपा (माओबादी केन्द्र) बाहेक मेयर, उपमयेर र बहुमत जनप्रतिनिधि नेपाली काँग्रेसले जितेको छ। त्यस्तै ५ वडा रहेको लिमचुङबुङ गाउँपालिकामा ३ वटामा एमालेले र २ वडासहित गाउँपालिका अध्यक्ष माओवादीले जितेको छ। लिमचुङबुङमा उपाध्यक्ष र त्रियुगामा उपमेयर भने काँग्रेसले जितेको छ।

प्रकाशित: ३० भाद्र २०७८ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App