३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव

सर्वदलीय बैठकमा संसदमा उपस्थित दलका शीर्ष नेताहरुले नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएकाे सर्वदलीय बैठकमा शीर्ष नेताहरुले संसदमा प्रमुख प्रतिपक्षको भूमिका मुख्य हुने भएको भन्दै नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका हुन्। 

बैठकपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संसद सहजरुपमा सुचारु गर्नका लागि नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउने निष्कर्ष निकालेको बताए। अध्यक्ष ठाकुरले आजको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि निस्कर्षविहीन भएको बताए।

अध्यक्ष ठाकुरले भने, ‘सभामुखजीले प्रयास गर्दै रहनुपर्छ, आजको बैठक निस्कर्षविहीन भएको छ, सभामुखजीले म प्रयास गर्दै थिएँ, फेरि पनि म प्रयास गरिरहन्छु भन्नुभएको छ।’

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरु नआएकोले बैठक निस्कर्षविहीन भएको बताए। उनले सबै समस्याको समाधान संवादबाटै हुने भएकोले एमाले संवादमा आउनुपर्ने र सदनलाई अनिर्णयको बन्दी बनाएर राख्न नमिल्ने बताए।

उनले बैठकमा सभामुख सापकोटालाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेर फेरि सर्वदलीय बैठक बोलाउन आग्रह गरिएको बताए। माधव नेपालसहितका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ती सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै संसद अवरुद्ध गर्दै आएको छ। 

भदौ २३, २५ र २७ गतेको संसदमा बिरोध गर्दै नाराजुलुस लगाएपछि सभामुख सापकोटाले भदौ २८ गते सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अनुपस्थित थियाे।

प्रकाशित: २८ भाद्र २०७८ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App