२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पालिका प्रमुखसहित २८ जनप्रतिनिधि नेकपा (एस)मा

निर्वाचन आयोगले दिएको दल रोज्न पाउने अधिकारको अन्तिम दिन मंगलबारसम्म उदयपुरका २८ जना जनप्रनिधिले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। नयाँ पार्टी रोज्दै सनाखत गर्नेहरुमा त्रियुगा नगरप्रमुख बलदेव चौधरी, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, जिल्ला समन्वय समिति सदस्य चीनवीर दनुवार, ५ जना वडाध्यक्ष तथा बाँकी कार्यपालिका र वडा सदस्य रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।  

निर्वाचन कार्यालयका अनुसार त्रियुगाका मेयर चौधरीसँगै ३ नं. वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ नं. वडाध्यक्ष पशुपति चौधरी र ३, ६ र ११ का एक–एक सदस्यले नेकपा(एस) रोजेका छन्। त्यस्तै उदयपुरगढी ७ की वडाध्यक्ष कर्णमाया मगर, कटारी नगरपालिका ९ का वडाध्यक्ष बेगबहादुर आलेमगर र लिमचुङबुङ गाउँपालिका ५ का वडाध्यक्ष केशरकुमार खड्का पनि नेकपा(एस)मा समाहित भएका छन्।

नेकपा (एस) रोज्ने अन्य जनप्रतिनिधिमा कटारी नगरपालिका ९ का वडाध्यक्ष मगर र वडाका ४ जना सबै सदस्यहरु छन् भने कटारी ४ का २ सदस्यले पनि नेकपा (एस) रोजेका छन्। त्यसैगरी उदयपुरगढी गाउँपालिका प्रवक्ता तथा कार्यपालिका सदस्य थमान विक, वडा नं. २, ४ र ७ का एक–एक सदस्य तथा ५ का २ सदस्यले पनि एमाले त्यागेका छन्। नेकपा(एस) रोज्नेहरु सोमबारदेखि नै निर्वाचन कार्यालय पुगेर एमाले छाडेको प्रमाणस्वरुप सनाखत गर्न थालेका थिए।

ताप्ली गाउँपालिका अध्यक्ष उद्धवसिंह थापा, उपाध्यक्ष कमलामाया राई र ५ वटै वडाध्यक्ष, सदस्य एमालेमै रहेका छन्। त्यस्तै रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र खड्का, उपाध्यक्ष कुमारी रानाज्यु ठकुरी र ८ वटै वडाध्यक्ष, लिमचुङबुङ गाउँपालिकाका ३ र ४ नं. वडाध्यक्ष, त्रियुगा नगरपालिका २, ११ र १२ नंं वडाध्यक्षहरु र चौदण्डीगढी नगरपालिकाका ९ का वडाध्यक्षले पनि एमाले छाड्न सकेनन्। बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा, उपमेयर राजकुमारी चौधरी र ९ वडामध्ये ८ जना वडाध्यक्ष पहिलेदेखि नै ओली समूहमा रहेका छन्।

प्रकाशित: २२ भाद्र २०७८ १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App