२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसीसीको विरोधमा पोखरामा संयुक्त देशभक्त मोर्चाको धर्ना

'सहयोगको घुम्टो ओढेर आएको एमसीसी गलपासो हो’

एमसीसीविरुद्ध पोखरामा गरिएको धर्नामा सहभागीहरु।

मिलिनियम च्यालेञ्ज कर्मोरेसन (एमसीसी)को विरोधमा पोखरामा सोमबार धर्ना दिइएको छ। संयुक्त देशभक्त मोर्चासहित विभिन्न संघसंस्थाको आह्वानमा एमसीसीको विरोधमा सोमबार पोखराको सहीदचोकमा १ घण्टा धर्ना दिइएको हो। 

पूर्वाह्न १० देखि ११ बजेसम्म दिइएको धर्नामा सहभागीहरुले 'म मेरो भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्न, त्यसैले एमसीसी चाहिंदैन’, 'पचपन्न अर्बको लोभमा राष्ट्रियता बेच्न पाईंदैन’, 'हामी हाम्रो शान्ति भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्नौं’, 'हामीलाई एमसीसी चाहिंदैन, स्वाभिमान बेच्न पाईंदैन’, 'म मरेपनि मेरो देश बाँचिरहोस्’ लगायतका नाराहरु लेखिएका प्लोकार्ड र ब्यानर बोकेर धर्नामा सहभागी भएका थिए।

राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास गराउने षडयन्त्रको गन्ध आएकाले त्यसलाई रोक्नका लागि दबाब दिने उद्देश्यले धर्ना दिइएको मोर्चाका सचिव रामबहादुर पौडेलले बताए। 'एमसीसी देशका लागि राष्ट्रघाती छ, यस्तो राष्ट्रघाती एमसीसी संसदबाट पारित गर्ने षडयन्त्रको गन्ध आएको छ, त्यसलाई रोक्नका लागि दबाब दिनु धर्नाको उद्देश्य हो’,उनले भने।

मोर्चाका अध्यक्ष तीलक पराजुलीले एमसीसी खारेज हुनुपर्ने बताए। 'एमसीसीका केही बुँदाहरु नेपालको संविधान र कानून भन्दा माथि छ, यो कदापी स्वीकार्य हुँदैन’, उनले भने। नेपालमा आउने पैसाको महालेखा परीक्षण नेपालले गर्न नपाउने, सुरक्षाकर्मी आफैले ल्याउनेलगायतका प्रावधान गलत मनसायले ल्याएको उनको दाबी छ। यसका विरुद्ध देशका सम्पूर्ण देशभक्तहरु एकजुट भएर सडकमा उत्रिनुपर्ने उनको भनाई छ। उनले एमसीसी अमेरिकी नयाँ सैन्य रणनीतिको अभिन्न अंग भएको बताए। नेपालमा अमेरिकाको कानुन र शासन लागु हुने यो खतरनाक एमसीसी परियोजना नेपाललाई नवउपनिवेशमा परिणत गर्ने र छिमेकी मित्रराष्ट्रको शान्ति, स्थिरता र समृद्धि रोक्न नेपाली भूमि आधार क्षेत्र बनाउने लक्ष्य लिएर आएको उनको आरोप छ।

मोर्चाका अध्यक्ष पराजुलीले एमसीसीका उच्च अधिकारीको आसन्न नेपाल भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनका शीर्षनेताहरुसँग एमसीसी संसदबाट पारित गराउनुपर्ने कुरा उठाएको समाचारले आमदेशभक्त नेपाली जनतालाई त्रसित बनाएको बताए। 'सहयोगको घुम्टो ओढेर आएको यो गलपासो हो, अफ्गानिस्तानमा पराजित अमेरिका यसको प्रयोगमा नेपाललाई नया रणक्षेत्र बनाउन उद्दत रहेको हाम्रो ठहर छ’, उनले भने।

संयुक्त देशभक्त मोर्चाले एमसीसी पारित गर्नका लागि नेपालका साशक र राजनीतिक दलहरुलाई कहिले तर्साउने त कहिले फकाएर प्रभावमा पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ। मोर्चाका अध्यक्ष पराजुलीले भने,'सत्तारुढ दल कांग्रेस र विपक्षी एमाले जसरी हुन्छ एमसीसी पास गर्न खोज्दैछन्, त्यसैले यसलाई जसरीपनि रोक्नुपर्छ।’ उनले शान्तिपूर्ण प्रदर्शनबाट पनि पछि हटेनन् भने सडकमा उत्रिनुको विकल्प नभएको चेतावनी दिए।

प्रकाशित: २१ भाद्र २०७८ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App