७ वैशाख २०८१ शुक्रबार
राजनीति

विवेकशील साझा विवाद: समानान्तर गतिविधि नरोके मिश्रद्वारा कारबाहीको चेतावनी

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षको समानान्तर गतिविधि नरोके कारबाही गर्ने निर्णय गरेको छ। बिहीबार केन्द्रीय समितिको भर्चुअल बैठकले सो निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी गराएका थिए।  

अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न बैठकले कडा निर्देशन दिएको छ’, बैठकले गरेको निर्णयमा उल्लेख गरिएको थियो, ‘त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरेको छ।’

बैठकले सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरूद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत गराउँदै, आइन्दा त्यसो गरेमा कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको थियो। बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष मिश्रले पेस गर्ने निर्णय पनि गरेको थियो।  

त्यस्तै बिहीबार विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको अध्यक्षतामा केन्द्रीय समितिको छुट्टै भर्चुअल बैठक भएको थियो। सो बैठकले पार्टीका संयोजक पाण्डे पक्षले न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया थाल्ने निर्णय गरेको थियो। त्यसका लागि कार्यविधि आवश्यक पर्ने भएकाले सचिवालय सदस्य आशुतोष तिवारीको संयोजकत्वमा मस्यौदा समिति बनाउने निर्णय भएको सञ्चार विभाग सहसंयोजक हरिश भट्टले जानकारी गराएका थिए।  

बैठकले पार्टीको विधान कार्यदलले सर्वसम्मतिले पेस गरेको विधान लामो समयदेखि अलपत्र परेको स्थितिलाई मध्यनजर गर्दै सो विधानमा आएको सदस्यहरूको सुझावसमेतलाई समेटेर विधान पारित गरिनुपर्नेमा जोड दिएको थियो। सोको लागि विधान मस्यौदामाथिको छलफललाई तीव्र बनाउने निर्णय भएको थियो। पार्टीभित्र फुट र विभाजन चाहने पक्षलाई निरुत्साहित गर्दै एकीकरणको घोषणा पत्र र निर्वाचनको प्रतिबद्धता पत्रलगायतको पालना गराउने पक्षमा पार्टी पंक्तिलाई अपिल गर्ने निर्णयसमेत बैठकले गरेको थियो। बैठकअघि अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच सहमति जुटाउन सरोज गौतम र अब्दुस मियाँलगायतका नेताहरूले प्रयास गरेका थिए।

अध्यक्ष मिश्रले केही दिनअघि धर्म निरपेक्षता र संघीयता खारेजीको विषयमा जनमत संग्रह हुनुपर्ने भन्दै दस्तावेज सार्वजनिक गरेपछि सो पार्टीभित्र विवाद चर्किएको थियो। त्यसपछि संयोजक पाण्डे, नेताहरू नेता रञ्जु दर्शना, केशव दाहाल र राजेन्द्र पंगेनीले मिश्रको विचारको खण्डन गर्दै गणतन्त्रको सुदृढीकरण, धर्म निरपेक्षताको रक्षा तथा संघीयतामा सुधार आवश्यकता रहेको दस्ताबेज ल्याएका थिए। 

प्रकाशित: १८ भाद्र २०७८ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App