४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पुराना योजना र कार्यक्रम नकाट्न एमालेको प्रदेश सरकारसँग अनुरोध

एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाउँदै । तस्बिरः नागरिक

नेकपा एमाले गण्डकी प्रदेशले कांग्रेस नेतृत्वको वर्तमान सरकार ‘समृद्ध प्रदेश र सुखी प्रदेशबासी’ सपनाको कट्टर विरोधी भएको आरोप लगाएको छ । अघिल्लोपटक एमाले सरकारले प्रदेशलाई समृद्ध बनाउने योजनाको बजेट र कार्यक्रम वर्तमान सरकारले कटौती गरेर प्रदेशबासी माथि अन्याय गरेको एमालेको आरोप छ ।  

राजनीतिक पूर्वाग्रह बिना नितान्त जनता र प्रदेशको भविष्यलाई सुन्दर र उज्जवल बनाउन ती कार्यक्रम र योजना ल्याइएकाले त्यस्ता कार्यक्रम र बजेट कटौती गर्ने निर्णय सच्याउन एमालेको माग छ । एमाले गण्डकी प्रदेश संसदीय दलले आइतबार प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर ज्ञापन पत्र बुझाउँदै टेण्डर गरिएका सबै योजनालाई अगाडि बढाएर बजेट दिन माग गरेको हो । कार्यक्रममा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए ।

मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा जनता केन्द्रीत कार्यक्रम काटेर अहिलेको सरकारले राजनीतिक प्रतिशोधको दृष्टि र पूर्वाग्रह राखेको आरोप लगाइएको छ । प्रतिशोध र पूर्वाग्रह लोकतान्त्रिक चरित्र नहुने भन्दै ज्ञापनपत्रमा भनिएको छ, ‘प्रदेशको प्रथम पञ्चवर्षिय योजना योजना अनुरुप कार्यक्रम र बजेट राखेका थियौं, योजनाबद्ध विकास गर्न त्यसै अनुसार बजेट बिनियोजन गरिएको थियो । तर वर्तमान सरकारले ती योजना र बजेट कटौती गरेर जनताको चाहनामाथि कुठाराघात गरेको छ ।’  

एमाले गण्डकीले अघिल्लो सरकारले गण्डकी विश्वविद्यालय, गण्डकी प्राविधिक तथा व्यवसायिक तालिम प्रतिष्ठान, सूचना प्रविधि पार्क, विज्ञान प्रविधि प्रतिष्ठान, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, एक निर्वाचन क्षेत्र एकसडक, खानेपानी, सरकारी कार्यालय निर्माण गर्नुलाई जनताको भलाइ हुने ठानेर राखेको तर वर्तमान सरकारले बेवास्ता गर्दै कार्यकर्तामुखी, टोलस्तरीय कार्यक्रमका लागि साना र खुद्रा बजेट विनियोजन गरेको आरोप लगाएको छ । उसले के विकास र समृद्धि खुद्रे योजनाबाट सम्भव छ ? भन्ने प्र्रश्नसमेत गरेको छ ।  

एमालेले टेण्डर भइसकेका लमजुङको खत्रीठाँटी कुन्छा–सोतीपसल सडक लमजुङ, पर्वतको शालिग्राम करिडोर लोकमार्ग मालुंगा–बास्टारी–रानीघाट–रुद्रवेण–सेतीबेनी–कुस्मा सडक खण्ड, म्याग्दीको बेनी–दरबाङ दोस्रो खण्ड, स्याङ्जाको नौडाँडा–कार्कीनेटा सडक दोस्रो खण्ड, गोरखाको नौलीखाला सडक पुल धार्चे, लगायतका योजनामा बजेट व्यवस्था गर्न माग गरेको छ ।

एमालेले आधारभूत खानेपानी २ वर्षभित्र पु¥याउने सरकारको प्राथमिकता अनुसार पहिचान भएका १२७ वटा योजनामध्ये लगभग १०८ वटा पूरा हुन लागेकाले बाँकी १९ आयोजनालाई बजेट व्यवस्था गर्न, ‘एक घर एक धारा’ ५ वर्षभित्र सबै जनताको घर घरमा पु¥याउने विगत सरकारको योजना भएकाले त्यसलाई निरन्तरता दिन पनि आग्रह गरेको छ ।  

एमालेले मुख्यमन्त्री जलवायु मैत्री कृषि नमुना गाउँ कार्यक्रमलाई बजेट पर्याप्त दिएर प्रभावकारी रुपमा कार्यान्वयन गर्न, साना सिँचाइ कार्यक्रमलाई प्राथमिकता दिन, गण्डकी काउ फार्मलाई बजेट छुट्ट्याउन, पशुको पूर्ण खोप कार्यक्रम ८५ स्थानीय तहमा पु¥याउने कार्यक्रमलाई प्राथमिकता दिन पनि अनुरोध गरेको छ ।  

प्रकाशित: ३१ श्रावण २०७८ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App