११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसदहरूले देखाए समस्यैसमस्या

राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरूले मुलुकमा जताततै समस्यैसमस्या देखाएका छन्। बैठकमा बोल्दै एमाले सांसद कोमल वलीले दार्चुला घटनामा सरकारले एक शब्द पनि बोल्न नसकेको बताइन्। उनले कांग्रेसका संस्थापक बिपी कोइरालाले जस्तो तत्कालै असहमति जनाउन छाडेर उक्त घटनाबारे बोल्न यो सरकारले प्रतिवेदन कुरेर बसेको बताइन्।

‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर युवालाई मारिँदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो बिपीका अनुयायीहरूको चरित्र ?’ वलीले भनिन्। साराले तुइन काटेर जयसिंह धामी बेपत्ता भएको भनेर भनिरहँदा रिपोर्ट पर्खने कुरा उचित छैन।’

कांग्रेस सांसद प्रकाश पन्तले अहिलेको अवस्था आउनुको कारक निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार भएको जिकिर गरे। पाँच वर्ष सरकार चलाउन दिइएको भए पनि आफ्नै व्यवहार र शैलीका कारण तीन वर्षमै सत्ताबाट हट्नुपर्ने अवस्था आफैंले सिर्जना गरेको उनले बताए। उनले भने, ‘कांग्रेस नदीको चिल्लो ढुंगा हो। यसले धेरै हन्डर खाएको छ। यो दर्शन ढुंगा होइन, टुक्रटुक्रामा फुट्ने।’ प्रतिपक्षमा कसरी बस्ने भनेर आफूहरूले तीन वर्ष सिकाएको उल्लेख गर्दै एमालेले प्रतिपक्षमा रहँदा अराजक भूमिका प्रदर्शन गरेको आरोप लगाए। ‘तपाईहरूको फेरि पालो आइहाल्छ, किन आत्तिनुभएको ?’, उनले भने।

सांसद रामनारायण बिडारीले केटाकेटीमा डन्डीबियो खेल्दा हार्नेले आफ्नो घरको बार्दलीमा गएर ‘तँलाई पख्लास्’ भनेजस्तै निवर्तमान प्रधानमन्त्री ओलीले पाखुरा सुर्किएको बताए। खेलमा हारेपछि हार स्वीकार नगर्दा लोकतन्त्र बलियो नहुने उनको भनाइ थियो। एमालेले परमादेशबाट बनेको सरकार भनिरहेको प्रति उनले असहमति जनाए। आफूले पनि ओली सरकारविरुद्ध धेरै भन्न सकिने अवस्था रहेको उनको भनाइ थियो। आफूहरूले पनि ‘संसद्विरोधी ओली सरकार’, ‘अध्यादेशको सरकार’ भन्दै जान सक्ने भए पनि यस्ता कुराले कसैलाई पनि राम्रो नगर्ने उनले बताए।

सांसद तारादेवी भट्टले सर्वसाधारण किसानलाई खोपको प्राथमिकता दिनुपर्ने बताइन्। अर्का सांसद परशुराम मेघी गुरुङले राजनीति बिग्रिरहने, योजना समयमा सम्पन्न नहुने समस्या रहिरहने हो भने मुलुक अघि बढ्न नसक्ने बताए। ‘८६ प्रतिशत योजना समयमा सम्पन्न हुने १४ प्रतिशत योजना मात्र समयमा पूरा हुन्छन्। यस्तो अवस्थाले मुलुक बन्न सक्दैन,’ उनले भने, ‘यसमा सुधारको खाँचो छ।’

माओवादी केन्द्रकी सांसद गंगाकुमारी बेल्बासेले वैदेशिक रोजगारीमा जान तयार भएर बसेको ठूलो समुदाय अहिले पनि त्यत्तिकै बसेको बताउँदै त्यसलाई सम्बोधन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन्। पर्याप्त मात्रामा रोजगारी नहुँदा, कलकारखाना उद्योगधन्दा नहुँदा विकास निर्माणका काम नहुँदा, श्रमप्रति सम्मान गर्ने परिपाटी नहुँदा सयौं नेपाली युवा खाडीलगायत देशमा जानुपर्ने बाध्यता रहेको उनको भनाइ थियो। सांसद तुलसाकुमारी दाहालले जनताले खोप कहिलेसम्म पाउने भनी प्रश्न गर्दै सबैलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न माग गरिन्।

प्रकाशित: २३ श्रावण २०७८ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App