२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

दोस्रो अध्यक्षको प्रस्ताव स्विकार गर्न सकिदैनः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्विकार गर्न नसकिने बताएका छन्। शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्विकार गर्न नसकिने प्रतिक्रिया दिएका हुन्।

उनले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैैजानुपर्नेमा आफूहरुको जोड रहेको पनि स्पष्ट पारे।  

'पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैैन। पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ', उनले भने, 'हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं। त्यसमा जाँदा खेरी त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ? त्यसले अनुमति दिने, त्यसले स्विकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नु पर्‍यो नि, सबैले।'

यसैगरि, उनले पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिए। त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह छ। पोखरेलले पार्टी एकताको विषयलाई टुंग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारी समेत दिए।  

यस्तै एमालेले शनिबार (भोलि) पार्टी स्थायी समिति बैठक बोलाएको छ। बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमालेले जनाएको छ। माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर  महाधिवेशनमा केन्द्रित हुन आफूहरुले चाहिरहेको महासचिव पोखरेलको भनाइ छ।

प्रकाशित: १५ श्रावण २०७८ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App