coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजनितिक अस्थिरताले देश बन्दैन: निर्वतमान प्रदेश प्रमुख पौडेल

गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले राजनीतिक अस्थिरताले देश नबन्ने टिप्पणी गरेकी छन्। देउवा सरकारले पदमुक्त गरेको भोलिपल्ट पोखरामा पत्रकार भेटघाट गर्दै निवर्तमान प्रदेश प्रमुख पौडेलले बारम्बार हुने हेरफेरले देश नबन्ने बताएकी हुन्। प्रदेश प्रमुख भएर २ महिना २४ दिन बताएर बिदा भएकी उनले भनिन्, 'राजनीतिक अस्थिरताले देश बन्दैन, यो सत्य हो।’ पटक/पटक हुने सरकार परिवर्तन र सरकार परिवर्तन भएलगत्तै हुने राजनीतिक नियुक्तीले अस्थिरता निम्त्याउने उनको आसय थियो।

पौडेलले आफूलाई पदमुक्त गरेकोमा आफू कत्तिपनि दुःखी नबनेको बताइन्। समाज परिवर्तनका लागि राजनीतिको निर्मम बाटो अप्नाएर अघि बढेकाले आफू पदमुक्त हुनुलाई स्वाभाविक मानेको भन्दै उनले अगाडि भनिन्, 'संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर भएकाले पनि यो निर्णयले मलाई कत्ति दुःखी बनाएको छैन।’ निवर्तमान प्रदेश प्रमुख पौडेले विचार र आस्था फरक रहे पनि राष्ट्रिय समृद्धिको पक्षमा सबैले साझा उद्देश्य राखेर अघि बढ्नुपर्ने बताईन्। बिचार फरक हुनसक्छ, आस्था फरक हुनसक्छ। तर राष्ट्रिय समृद्धिको पक्षमा भने हामी साझा उद्धेश्य लिएर अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ’–उनले भनिन्।

निवर्तमान प्रदेश प्रमुख पौडेलले चालु आर्थिक वर्षमा प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम’ का लागि प्रदेश सरकार मार्फत २२ करोड रुपैयाँ बजेट विनियोजन गर्न सफल भएको दाबी गरिन्। प्रदेशको समृद्धिका लागि मैले पनि आफ्नो दृष्टिकोणसहित केही कार्यक्रम तय गरेको थिएँ। जसमध्ये प्रदेश प्रमुख शैक्षिक सुधार.कार्यक्रम’ लाई जोड दिएर प्रदेश सरकार मार्फत २२ करोड बजेट विनियोजन गर्न सफल भएको यहाँहरु माझ जानकारी गराउन चाहन्छु’–उनले भनिन्। यसलाई नवनियुक्त प्रदेश प्रमुखले निरन्तरता दिने उनले विश्वास व्यक्त गरिन्।

पौडेलले आफूले आफ्नो कार्यकालभरी संवैधानिक परिधिभित्र रहेर आफ्नो कर्तव्य पूरा गरेको बताइन्। पत्रकार भेटघाटमा दोहोरो वार्तालाप नगरेकी उनले पत्रकारलाई प्रश्न गर्नसमेत रोकिन्। भनिन्,आज प्रश्नोत्तर हुँदैन।’ प्रदेश प्रमुख भएलगत्तै पौडेल विवादमा परेकी थिईन्। तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकारलाई बचाउने प्रयास स्वरुप गरिएको प्रदेश प्रमुख फेरबदलमा परेर आएकी उनले पदबहाली गरेलगत्तै सभामुखलाई कारबाही गर्नुपर्ने अभिव्यक्ति दिएकी थिईन्। संवैधानिक पदमा रहेकी उनले निर्वाचित सभामुखलाई कारवाही गर्नुपर्ने अभिव्यक्ति दिएपछि संवैधानिक हैसियत बिर्सिएर अभिव्यक्ति दिएको भन्दै बिपक्षी पार्टीसहित आम सर्वसाधारणले आलोचना गरेका थिए।

तत्कालिन मुख्यमन्त्री गुरुङबिरुद्ध परेको अविस्वासको प्रस्ताव माथि छलफल गर्न विशेष अधिवेशन बोलाएपछि तत्कालिन प्रदेश प्रमुख अमीक शेरचनलाई पदमुक्त गर्दै केपी शर्मा ओली सरकारले पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। तर कांग्रेस नेतृत्वको वर्तमान सरकारले पौडेललाई पदमुक्त गरेर पृथ्वीमान गुरुङलाई नियुक्त गरेको छ। गुरुङ नया प्रदेश प्रमुखमा नियुक्त भएसँगै गण्डकी प्रदेशमा ४ वर्षमा ४ प्रदेश प्रमुख फेरिएका छन्। शुरुमा कांग्रेस सरकारले बाबुराम कुँवरलाई प्रदेश प्रमुख बनाएको थियो । तर उनको कार्यकाल करीब २ वर्ष चल्यो। त्यसपछि ओली सरकारले कुँवरलाई पदमुक्त गरेर माओवादीका अमिक शेरचनलाई प्रदेश प्रमुख बनायो। 

नेकपाको अस्तित्व मेटिएर एमाले र माओवादीमा फर्किएपछि ओली सरकारले कार्यकाल डेढ वर्ष नपुग्दै शेरचनलाई हटाएर आफू निकट सीताकुमारी पौडेललाई प्रदेश प्रमुख बनायो। तर सर्वोच्च अदालतको परमादेशबाट ओली सरकार हटेर कांग्रेस नेतृत्वमा सरकार बनेपछि देउवा सरकारले पौडेललाई २ महिना २४ दिनमै पदमुक्त गरेर पृथ्वीमान गुरुङलाई नियुक्त गरेको छ। गुरुङ पदबहाली गर्न पोखरा आइपुगेका भने छैनन्।

प्रकाशित: १३ श्रावण २०७८ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App