coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘गैरबजेटरी योजना भ्रष्टाचारको सुरुवात’

पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङलगायत नेताहरू। तस्बिर: नागरिक

गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेस नेतृत्वको वर्तमान सरकारले गैरबजेटरी योजना ल्याएर भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाएका छन्। एमाले संसदीय दल गण्डकी प्रदेशले शनिबार पत्रकार भेटघाट गर्दै वर्तमान सरकारले १६ करोडको गैरबजेटरी योजना ल्याएर भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका हुन्। 

गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दल गण्डकी प्रदेशका नेता पृथ्वी सुब्बा गुरुङले यसरी वितरण गरिएको गैरबजेटरी बजेट पार्टीको निर्देशनमा वितरण भएको आरोप लगाए। ‘पार्टीको जिल्ला सभापतिहरूको सिफारिसमा रकम बाँडिएको छ, यो गैरबजेटरी योजना हो। गैरबजेटरी खर्च गर्नु भनेको भ्रष्टाचारको सुरुवात हो। उहाँहरूले भ्रष्टाचारको सुरुवात त गरिसक्नुभयो।’ उनले गैर बजेटरी योजनामा खर्च भएकाले यसमा सम्बन्धित निकायले ध्यान दिने उनले बताए। उनले कसले यसको ध्यान दिनेछ भन्नेबारेमा खुलाएनन्।

पूर्वमुख्यमन्त्री गुरुङले सरकार छाड्ने बेलामा आफूले ११ योजनाका लागि साढे ४ अर्ब बढीको टेण्डर गरेको भन्ने प्रदेश सरकारको आरोपको खण्डन गरे। गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा विज्ञान, प्रविधी तथा सामाजिक विकासमन्त्री कुमार खड्काले पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएर सरकार छाड्नैपर्ने बाध्यता आइपरेपछि हतारहतार ११ योजनाका लागि ४ अर्ब ५१ करोडको ठेक्का लगाएको आरोप लगाएका थिए। उनका अनुसार ती योजनाका लागि प्रदेश सरकारकासँग बजेट छैन। 

सरकारका प्रवक्ता खड्काले लगाएको आरोपको खण्डन गर्दै पूर्वमुख्यमन्त्री गुरुङले भने, ‘हामीले त यी योजनालाई बहुवर्षीय योजनामा पारेर वार्षिक रूपमा बजेट छुट्याउने गरेका थियौं, यस वर्ष पनि त्यसका लागि टेण्डर गरेका हौं।’ वहुवर्षीय योजनाका लागि प्रदेशले भन्दा पनि संघ सरकारले नै बजेट दिने भएकाले यो योजना निरन्तर बढ्नुपर्ने उनको भनाइ थियो। उनले आफू नेतृत्वको सरकारले नीति तथा कार्यक्रम र बजेटमा नभएको योजनामा खर्च नगरेको दाबी गरे।

पूर्वमुख्यमन्त्री गुरुङले अघिल्ला सरकारले अगाडि बढाएका योजना वर्तमान सरकारले तलमाथि गर्न नसक्ने जिकिर गरे। ‘आफूहरूले बढाएका योजना अगाडि नबढाउन वर्तमान सरकारले बहानाबाजी गरेर नीति, कार्यक्रम र बजेटमा नभएको ११ योजनाका लागि साढे ४ अर्ब छुट्याएको भन्ने आरोप लगाएका हुन्, तर यो गलत हो, हामीले नीति तथा कार्यक्रम र बजेट बाहिर गएर कुनै पनि योजना अगाडि बढाएका छैनौं,’ उनले भने। उनले राम्रो मुद्दा जसको लिए पनि हुने भन्दै अगाडि थपे, ‘अघिल्लो सरकारले गरेका राम्रा काम यो सरकारले पनि निरन्तरता दिनुपर्छ।’

पूर्वमुख्यमन्त्री गुरुङले कांग्रेस नेतृत्वले लोकतन्त्रको नाममा सर्वसत्तावादको अभ्यास गर्न खोजेको आरोप लगाए। यो प्रक्रिया २०१५ सालदेखि २०४८ सालहुँदै अहिलेसम्म पनि जारी रहेको उनको आरोप छ। प्रदेशका तत्कालीन पूर्वाधारमन्त्री रामशरण बस्नेतले सरकार छाड्ने बेलामा ११ योजनाका लागि साढे ४ अर्बको टेण्डर गरेको भन्ने आरोप सरासर झूठ र कपोलकल्पित भएको दाबी गरे। 

१६ करोडको रकमान्तर गरेको कुरालाई ओझेलमा पार्न कांग्रेस सरकारले जानाजान रूपमा ल्याएको प्रोपोगाण्डा भएको उनको आरोप छ। एमालेले अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिए मात्र आफ्नो दलले सरकारलाई सहयोग गर्ने बताए। बजेटको बाँडफाँटलाई हेरेर सहयोग गर्ने कि असहयोग भन्ने निक्र्योल पार्टीले गर्ने संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले बताए।

प्रकाशित: २७ असार २०७८ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App