७ वैशाख २०८१ शुक्रबार
राजनीति

गण्डकी प्रदेश सरकारले २० देखि २५ लाख मूल्य भन्दा महंगा गाडी नकिन्ने

गण्डकी प्रदेश सरकारको मन्त्री परिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल (दायाँ) र सरकारका प्रवक्ता कुमार खड्का । तस्बिर : उमेश पुन/नागरिक

गण्डकी प्रदेश सरकारले २० देखि २५ लाख मूल्यभित्रका गाडी मात्र किन्ने भएको छ । अत्यावश्यक परेको खण्डमा मात्र गाडी किन्ने बताउँदै प्रदेश सरकारले गाडी किन्दा एकरुपता र मितव्ययिता कायम गर्ने बताएको हो ।  

प्रदेश सरकारले सवारी साधन खरिदमा हुने खर्चमा मितव्ययिता अपनाउने मन्त्री परिषद बैठकबाटै निर्णय गरेको हो । बैठकले नयाँ सवारी साधन खरिद गर्दा एकरुपता अपनाउँदै न्यूनतम मूल्यका सवारी साधन खरिद गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

प्रवक्ता खड्काका अनुसार यसरी मितव्ययिता अपनाउँदा सवारी साधन खरिदमा मात्र यसवर्ष २८ करोड रुपैयाँ बचत भएको छ । उनका अनुसार एमाले सरकारको पालामा विभिन्न निकायबाट सवारी साधन खरिद गर्न ३८ करोड रुपैयाँ माग भएको थियो । त्यसमा आवश्यकताका आधारमा मितव्ययिता अपनाउँदा २८ करोड रुपैयाँ घटाएर केवल १० करोड रुपैयाँमा झारिएको उनले दाबी गरे । ‘हामीले विलासी सवारी साधन खरिद नगरी आवश्यक्ता पुरा गर्ने खालका गाडी मात्र खरिद गर्ने निर्णय गरेका छौं,’ जसका लागि सबै सवारी साधन खरिद गर्दा एकरुपता अपनाउने र कम बजेटका सवारी खरिद गर्ने भन्ने निर्णय छ,’ उनले भने ।

यसअघि एमाले नेतृत्वको सरकारले सवारी साधन खरिदमा एकरुपता नअपनाउँदा कसैले करोड मुल्य त कसैले २०–२२ लाख रुपैयाँका गाडी खरिद गर्ने गरेको पाइएको भन्दै प्रवक्ता खड्काले बताए । उनले भने, ‘अब त्यस्तो हुँदैन । अब खरिद हुने सबै गाडी २० देखि २५ लाख मुल्य भित्रका हुनेछन । ती पनि अत्यावश्यक अवस्थामा मात्र खरिद हुनेछन ।’

गण्डकी प्रदेश सरकारले बिपद ब्यबस्थापनका लागि हाई र्‍यापिड टास्कफोर्स पनि गठन गरेको छ । बाढी, पहिरा ेलगायतका प्राकृतिक विपतमा परेकाहरुको उद्धार र राहतका लागि तत्काल रेस्पोन्स गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीको नेतृत्वमा बिना विभागीय मन्त्रीद्वय हरिशरण आचार्य र दीपक मनाङे तथा कानून सचिव र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव रामेश्वर अर्याल सदस्य सचिव रहेको पाँचसदस्यीय टास्क फोर्स गठन गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।

मन्त्री परिषद बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नवलपुरका खड्ग कमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । कमाल मुख्यमन्त्री पोखरेलको गृहजिल्ला नवलपुरका हुन् । प्रदेश सरकारले आर्थिक सुशासन कायम गर्ने भन्दै त्यसको अनुगमन गर्न नेपाल पत्रकार महासंघ र नागरिक समाजलाई दिने निर्णय गरेको छ । प्रदेशले सञ्चालन गरेका आयोजना, योजना तथा कार्यक्रमहरुमा भएका आर्थिक गतिविधिहरुको अनुगमन गर्नका लागि महासंघ र नागरिक समाजलाई दिने र त्यसका लागि बजेट समेत विनियोजन गर्ने निर्णय भएको सरकारका प्रवक्ता खड्काले बताए ।

त्यस्तै प्रदेश सरकारले स्वेतपत्र जारी गर्ने भएको छ । उक्त स्वेतपत्रमा कुन स्थितिमा एमाले नेतृत्वको सरकार छाडेर गयो, कुन स्थितिबाट आफु नेतृत्वको सरकार अगाडि बढिरहेको छ भन्ने सबै समेटेर जारी गर्ने प्रवक्ता खड्काले बताए ।

प्रकाशित: २२ असार २०७८ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App