८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

संक्रमित नेताको आइसोलेसनमा मृत्यु भएको विषयमा छानबिन गर्न एमालेको माग

नेकपा एमाले खोटाङले आइसोलेसन सेन्टरमा कोभिड संक्रमित नेताको मृत्यु भएको विषयमा छानबिन गर्न माग गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित होटलमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा समयमा उपचार नपाउँदा एमाले जिल्ला कमिटी सदस्य शुक्र बिश्वकर्माको मृत्यु भएको दावी गर्दै एमालेले छानबिनको माग गरेको हो। संक्रमण पुष्टि भएपछि ८ दिनसम्म आइसोलेसनमा बसेर घर गएपछि पुनः स्वास्थ्यमा समस्या आएपछि आइसोलेसन सेन्टर पुगेका बिश्वकर्माको असार १५ गते निधन भएको थियो। 

एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बिहीबार शोक विज्ञप्ति जारी गर्दै आइसोलेसनमा बसेका विरामीलाई कोभिड पोजिटिभ हुँदाहुँदै रेफर गरी घर पठाइनु र असहज भएपछि भोलिपल्ट आइसोलेसन आउँदा समयमै उपचार नपाएको भन्ने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।  

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान घर भएका बिश्वकर्मा नेपाल उत्पिडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष पनि हुन्। संक्रमितको आइसोलेसनमै मृत्यु भएको सन्दर्भमा पार्टीले पनि आन्तरिक रुपमा गम्भीरतापूर्वक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने शोक विज्ञप्तिमा उल्लेख छ। ‘वहाँको असामयीक निधनका सन्दर्भमा केही गम्भीर विषयहरु विभिन्न सञ्चार माध्यमबाट उजागर भइरहेका छन्। यस विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस विषयले पार्टीलाई थप पीडा महसुस भएको छ। यस सन्दर्भमा पार्टीले आन्तरिक रुपमा गम्भीरतापूर्वक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने नै छ,’ शोक विज्ञप्तिमा भनिएको छ, ‘तथापी महामारीको यस्तो चपेटामा स्वास्थ्य सेवाजस्तो संवेदनसिल विषयमा उठेका यी गम्भीर विषयमा सम्वन्धित निकायले तत्काल छानबिन गरी दोषी उपर कारबाही गर्न र के कसो भएको हो सो को निष्पक्ष र सत्यतथ्य सार्वजनिक गर्नका साथै दोषी उपर कारबाही गर्न सम्वन्धित निकाय समक्ष माग गर्दछ।’ एमालेले बिश्वकर्मा निधनले पार्टीलाई अपुरणीय क्षति भएको भन्दै शोक व्यक्त गरेको छ।  

यस्तै, नेपाल उत्पिडित जातीय मुक्ति समाजले पनि स्वास्थ्यकर्मीको हेलचक्र्याइँले शुक्र बिश्वकर्माको मृत्यु भएको बुझिएको जनाएको छ। समाजका प्रदेश नम्बर १ का सह–इन्चार्ज चर्चबहादुर बिश्वकर्मा, जिल्ला उपाध्यक्ष रमेश परियार र सचिव दिपक ठटालले जारी गरेको शोक विज्ञप्तिमा संक्रमितलाई ‘अक्सिजन सकियो अस्पतालमा व्यायभार हुन्छ’ भनेर घर पठाउँदा भएको हेलचक्र्याइँले मृत्यु भएको नेपाल उत्पिडित जातीय मुक्ति समाजले जनाएको छ।

प्रकाशित: १७ असार २०७८ १५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App