४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

ताजा जनादेशमा जानु बाध्यकारी विकल्प हो : विष्णु पौडेल

फाइल तस्बिर

उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताएका छन् । उनले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताएका हुन् ।  

उनले आज बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटनका क्रममा केही दलहरु निर्वाचनसँग डराएका बताए । उनले निर्वाचन बाध्यकारी रुपमा आएकाले सबैलाई निर्वाचनका लागि तयार रहन आग्रहसमेत गरे ।  

उनले सरकारले पूर्वाधार निर्माणका क्षेत्रमा, मानवीय संसाधनको विकासका दृष्टिले, जनताको जीवनस्तरमा आएको विकास र प्रगतिका क्षेत्रमा हरेक दृष्टिकोणले नेपालले विकासका नयाँ नयाँ मानक प्रस्तुत गर्दै अघि बढिरहेको बताए ।  

अर्थमन्त्रीसमेत रहेका उनले सरकारको विकास र समृद्धिको अभियानमा सम्पूर्ण राजनीतिक दल, आम जनताको समेत साथ र सहयोग हुनुपर्नेमा सत्तापक्षीय दलकै बीचमा पनि कतिपय समस्या देखिएकाले यो प्रतिनिधिसभाले राजनीतिक स्थायित्वलाई सुनिश्चितता दिने तथा विकासको अभियानलाई तीव्रता दिन नसक्ने अवस्थामा ताजा जनादेशमा जानुपर्ने परिस्थिति सिर्जना भएको उल्लेख गरे ।  

उपप्रधानमन्त्री पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाका मुलुककै समृद्धिका लागि निकै महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हुने बताए । उनले परियोजनाले रूपन्देही र कपिलवस्तुका जमीनमा सिँचाइ सुविधा पु¥याउने, विद्युत् उत्पादन गर्ने तथा पर्यटकीय पूर्वाधारको समेत विकास गरिने योजना रहेको जानकारी दिए ।  

सो परियोजना सम्पन्न गर्न १३८ अर्ब लागत अनुमान गरिएको छ । यसअन्तर्गत विद्युत् उत्पादन करीब रु ६४ अर्ब र सिँचाइ संरचना तथा सिञ्चित क्षेत्र विकासका लागि करीब रु ७४ अर्ब अनुमान गरिएको छ । उक्त रकमको स्रोत सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए । रासस 

प्रकाशित: १२ असार २०७८ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App