coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नगरपालिकाका कर्मचारीमाथि हातपात गर्ने नेतालाई कारवाहीको माग

मटिहानी नगरपालिकाका कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेका नेकपाका नेता राजकिशोर मण्डललाई कारबाही गर्न कर्मचारीहरुले स्थानीय प्रशासनसँग माग गरेका छन्।

नेकपाका मटिहानी नगरस्तरीय नेता राजकिशोर मण्डलले नगरपालिकामा कामकाज गर्दै गरेका कर्मचारी राकेशकुमार राणलाई बिहीबार दिउँसो हातपात गरेको भन्दै नेता मण्डललाई कारबाही गर्न माग गर्दै नगरपालिकाका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी दर्ता गराएका छन्।

मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्मासहित ६५ जना  कर्मचारीहरुले नेता मण्डललगायत उनको समूहलाई कारबाही गर्न माग गरे। उनीहरुले कारबाही नगरिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

दुर्व्यवहारमा परेका कर्मचारी राकेश मटिहानी नगरपालिकाले सञ्चालन गर्दै आएको एम्बुलेन्स चालक हुन्। जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीहरुको शान्तिसुरक्षा माग गर्दै उजुरी र मागपत्र दिएका थिए।

उजुरी र माग निवेदन पाएलगतै निमित्त प्रमुख जिल्ला अधिकारी न्यौपानेले तत्कालै जिल्ला प्रहरी कार्यालयको नाममा तोक आदेश जारी गरी कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

कोरोना महामारीको कारण सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले गरेको सातौ नगरसभामा आफूहरुलाई नबोलाएको भन्दै नेकपा, काँग्रेससहितका विभिन्न ५ दल समर्थित नेताहरुले बुधबार नगरपालिकामा तालाबन्दी गरेपछि बिहीबार सेवा लिन नगरपालिका पुगेका सेवाग्राहीहरुले स्वतस्फुर्त रुपमा ताला फोडदै कार्यालय सञ्चालन गर्न लगाएका थिए।  

कार्यालय सञ्चालन भएको सूचना पाएर नगरपालिका पुगेका नेता राजकिशोर मण्डल लगायतका नेताहरुहरुको समूहले कर्मचारीहरुलाई जथाभावी हातपात र गालीगलौज गरेको दुर्व्यवहारमा परेका एम्बुलेन्स चालक राणले जानकारी दिएको छ।  

उनले मटिहानी नगरपालिकामा नेकपाका राजकिशोर मण्डललगायतका नेताहरु पटक पटक यसरी नै नगरपालिकाको काम अवरोध गर्ने, कर्मचारीहरुलाई कुटपिट र दुर्व्यवहार गर्दै आइरहेको बताउँदै यसपटक कानूनी उपचार नभए कर्मचारीहरुको मनोबल खस्ने र कामकाज गर्न वातावरण नरहने बताए।  

यसैबीच, कर्मचारीहरुले नेतालाई कारवाहीको माग गरेपछि नेताहरुलाई वचाउको लागि शुक्रबारदेखि नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका राजनीतिक दल समर्थित नेता कार्यकर्ताले रिले अनसन थालेका छन्। नेकपाका नेता राजकिशोर मण्डललाई सम्पर्क गर्दा उनी आपूm जनकपुरमा बैठकमा रहेकोले घटनाबारे पछि जानकारी गराउने बताए।  

यसैबीच शुक्रबार मटिहानी नगरपालिकाको मेयर हरि प्रसाद मण्डलका समर्थकहरुले मेयर हरि प्रसाद मण्डल जिन्दावाद , विकास विरोधी मुर्दावाद, जनतालाई गुमराह गर्न पाईदैन , जनताको काम रोक्न पाईदैन, दलाल नेता चाहिँदैन लगायतको चर्का नाराबाजी गर्दै जुलुस प्रर्दशन गरेका छन्। 

प्रकाशित: ११ असार २०७८ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App