१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेशसभा बैठक लगातार चौथो पटक स्थगित

कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आन्तरिक द्वन्द्वका कारण लगातार चौथो पटक संसद बैठक सूचना टाँस गरेर स्थगित भएको छ।

बैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका चार सांसदलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् पुनस्थापित गरिदिएपछि कर्णाली प्रदेशमा एमालेभित्रको विवादको असर संसदमा देखिएको हो।

फ्लोरक्रस गरेका चारमध्ये तीन जनालाई मुख्यमन्त्री शाहीले आफ्नो मन्त्रिपरिषद्मा समेटेका छन्। एमालेले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापालाई पदमुक्त गर्न माग गर्दै आएको छ।

संसदको सबैभन्दा ठूलो दल एमालेको आन्तरिक द्वन्द्वकै कारण असार १ गते बजेट भाषण भएपनि दफावार छलफल सुरु हुन सकेको छैन। असार ४, ६, ८ हुँदै अब अर्को बैठक ११ बजे दिउँसो २ बजेका लागि तोकिएको छ।  

एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबैको सहमतिमा संसद बैठक स्थगित गरिएको बताए। उनले एमालेबाट मन्त्री बनेका तीन जनालाई मन्त्रीबाट पदमुक्त नहुँदासम्म संसद चल्न नसक्ने बताए। ‘सर्वोच्चले संसद बहाली गरेका हाम्रा तीन जना सांसदलाई मन्त्री पदबाट मुक्त गर्नुपर्यो भन्ने हाम्रो माग हो,’ प्रमुख सचेतक शाहले भने, ‘मुख्य माग नै पूरा नभएकाले त्यसुको असर संसदमा परेको हो।’

प्रमुख सचेतक शाहका अनुसार सरकारले बजेट किताब तयार नगरेकाले पनि संसद बैठक लगातार स्थगित हुनुको दोस्रो कारण हो। ‘बजेट किताबविना संसद बैठक मात्रै बसेर हुँदेन्,’ उनले भने, ‘एमाले सांसदलाई मन्त्री पदबाट मुक्त गर्नुका साथै बजेट किताब ल्याएपछि संसद सुचारु हुन्छ।’

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले एमालेको आन्तरिक विवादका कारण प्रदेशसभामा साझा थलो नरहेको आरोप लगाए। उनले पार्टीको आन्तरिक विवाद प्रदेशसभामा नल्याउन पनि आग्रह गरे।

प्रकाशित: ८ असार २०७८ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App