१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पैसाको निम्ति डाक्टर बनेकाहरु युद्धको बेला भाग्ने सिपाहीँजस्ता: बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पैसा कमाउने उद्देश्यले डाक्टर पढेकाहरूको असली चरित्र अहिले थाहा भएको बताएका छन्।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा काम गरिरहेका चिकित्सक, नर्स, कर्मचारीहरूबीच शुक्रबार अनलाइनबाट मार्गनिर्देशन दिँदै उनले स्वास्थ्यकर्मीहरुलाई आफ्नो पेशागत दायित्व निर्वाह गर्न आग्रह गरे।

पैसामुखी स्वास्थ्यकर्मीहरुको कारण स्वास्थ्य क्षेत्र बद्नाम भएको र त्यसले जनताको स्वास्थ्य अधिकासमेत कुण्ठित भइरहेको प्रसंग उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले कोभिड १९ महामारीलाई पनि एकप्रकारको युद्धको संज्ञा दिए।

युद्धको बेला आफ्नो कर्तव्य निर्वाह नगर्ने इमानदार सिपाहीँ हुन नसक्ने उदाहरण दिँदै अहिलेको महामारीमा स्वास्थ्यकर्मीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने भएकाले सो भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो।

अध्यक्ष बिजुक्छेँले स्वास्थ्य सेवामा रहेका डाक्टर, नर्स र कर्मचारीको व्यवहार राम्रो नभए जनताको गुनासो आउनु स्वाभाविक भएको उल्लेख गर्दै आफूमा भएको कमी कमजोरीलाई समयमै सुधार्नु जरुरी रहेको बताए।  

उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालप्रति जनताको सद्भावना निकै प्रशंसनीय भएको समेत बताए। ‘नगरपालिकाको आह्वानकै भरमा करोडौंको रकम जम्मा हुनु भनेको नगरपालिकाप्रति जनताको विश्वास कायम रहेको भन्ने हो, यसैले पैसा कमाउन डाक्टर बन्नेहरूले यस्तो महामारीमा बिरामीको सेवा गर्दैनन्।’  

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दै महामारीको समयमा स्वास्थ्यकर्मीहरूपछि हट्दा समाजलाई जोगाउन मुश्किल पर्ने बताए।  

जनताको साथ, सहयोग र मायाले भक्तपुर नपालाई अझ उत्साहित भएर अगाडि बढ्न उत्साह मिलेको बताउँदै उनले ख्वप अस्पतालले भविष्यमा राष्ट्रिय स्तरको स्वास्थ्य सेवा दिने सोचका साथ अगाडि बढिरहेको जानकारी दिए।

कार्यक्रममा भक्तपुर नपाका शाखा अधिकृत गौतमप्रसाद लासिवाले भक्तपुर नपाबाट सञ्चालित आइसोलेसन केन्द्रको अवस्था र त्यहाँबाट प्रदान गरिँदै आएको सेवा सुविधाबारे अवगत गराए ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले कोभिड महामारीमा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले प्रदान गर्दै आएको सेवाबारे जानकारी दिए। 

प्रकाशित: २८ जेष्ठ २०७८ ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App