७ वैशाख २०८१ शुक्रबार
राजनीति

महतोको अभिव्यक्तिप्रति आपत्ति

मुलुकको संविधान, राष्ट्रिय एकता र अखण्डता विरोधी अभिव्यक्ति दिएको भन्दै शनिबार विद्यार्थीले काठमाडौंमा उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला दहन गरेपछि नियन्त्रणमा लिँदै सुरक्षाकर्मी।तस्बिर : केशवराज थोकर/नागरिक

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै बेलाका आफ्नो कटुआलोचक राजेन्द्र महतोलाई शुक्रबार सत्ता सहयात्रीका रूपमा सरकारमा भित्र्याएका छन्। पार्टीका अधिकांश मन्त्रीहरूलाई सरकारबाट हटाउँदै प्रधानमन्त्री ओलीले महतोलाई उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्। शुक्रबार राति ८ बजेपछि पद तथा गोपनियताको शपथ लिएका महतोले राति नै पदबहाली गरे।

संविधानसभाबाट जारी संविधानप्रति असन्तुष्टि जनाउँदै प्रतिलिपि च्यातेका महतो यही संविधानअन्तर्गत उपप्रधानमन्त्री बनेका छन्। संविधानसभाबाट संविधान जारी हुँदा भारतले लगाएको नाकाबन्दीको पक्षपोषणमा महतोसहितका नेताहरू उभिएका थिए। तर ओली त्यो नाकाबन्दीको विपक्षमा उभिएका थिए। त्यसबाट ओलीले राष्ट्रवादी छवि बनाएका थिए। यसैकारण २०७४ सालको आमनिर्वाचनमा ओली र उनले नेतृत्व गरेको एमालेको पक्षमा जनताले अभिमत प्रकट गरे। अहिलेसम्म महतोसहित मधेसीवादी दलले उठाएका मुद्दा सम्बोधन भएका छैनन्। विभिन्न कारण विगतमा दुई धु्रवमा विभाजित ओली र महतो अहिले एकै ठाउँमा आइपुगेका छन्।

त्यति मात्र होइन, एकले अर्कालाई अराष्ट्रवादी र प्रतिगामी करार गरेका दुवै नेता सत्तासाझेदारी गर्दै एकअर्काका सारथि बन्न पुगेका छन्। ओलीले आफ्नो सत्ता टिकाउने सबैभन्दा महत्वपूर्ण शक्तिका रूपमा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई उपयोग मात्र गरेका छैनन्, विश्वासपात्रका रूपमा महतोलाई रोजेका छन्।  

विगतमा ओलीका कटु आलोचक र अहिले सारथि बनेका महतोले सरकारमा सहभागी भएलगत्तै मुलुकको संविधान, राष्ट्रिय एकता र अखण्डता विरोधी अभिव्यक्ति दिएका छन्। बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने बताएपछि उनी विवादमा परेका छन्।

महतोहरूले जोडतोडका साथ उठाउँदै आएको ‘सिंगो मधेस एक प्रदेशको विपक्षमा उभिएका ओलीले दलीय बैठकमा समथर प्रदेशजति सबै मधेस प्रदेश बनाउने हो भने युपी र बिहार पनि माग्नुस्’ भनेको तिनै महतोले पटकपटक भन्दै आएका थिए। ओलीले संविधानसभाबाट बाहिरिएका मधेसकेन्द्रित दलहरूलाई ‘रूखबाट झरेका आँप’ र मधेसी मोर्चाले आयोजना गरेको ‘मानव साङ्लो’ सहितको आन्दोलनलाई माखेसाङ्लोको संज्ञा दिएका थिए।  

ओलीको यस्तैयस्तै धारणाप्रति असन्तुष्ट मधेसवादी दलका नेता तथा कार्यकर्ताले एमालेले आयोजना गरेको मेची–महाकाली यात्राका क्रममा सप्तरीमा झडप भएको थियो। झडपमा केही व्यक्तिले ज्यान गुमाएका थिए। त्यसपछि एमालेले उक्त कार्यक्रम स्थगित गर्नुपरेको थियो। विगतमा ओलीलाई मधेसमा पस्नै नदिने उद्घोष गरेको मधेसवादी दलको पक्षमा अहिले उनी कसरी र किन उभिए ? विगतमा कांग्रेस र माओवादी केन्द्रसहितका दलले मधेसवादी दलले उठाएका मुद्दा सम्बोधन गर्न संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएको एमाले र ओलीले अहिले फेरि नागरिकतासम्बन्धी अध्यादेश जारी गरेका छन्। रेशम चौधरीको मुद्दा फिर्ता लिन पनि प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन्। ओलीले मधेसका मुद्दालाई बल्ल बुझेका हुन् वा सत्ता जोगाउन अपनाइएको हतकण्डा मात्र हो भन्नेमा आशंका उब्जिएको छ।

विगतमा ओलीका कटु आलोचक र अहिले सारथि बनेका महतोले सरकारमा सहभागी भएलगत्तै मुलुकको संविधान, राष्ट्रिय एकता र अखण्डता विरोधी अभिव्यक्ति दिएका छन्। महतोले पदभार ग्रहण गर्दै वैकल्पिक शक्ति निर्माण गर्ने, अधिकार, पहिचान, सुशासन र समृद्धिको सवालहरू अगाडि बढाउने बताए।

त्यतिमात्र होइन, उनले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने पनि बताए। एकल राज्यको कारणबाट नेपालका विभिन्न समुदाय पछि परेको भन्दै बहुल राष्ट्रिय राज्य सञ्चालन हुनुपर्ने तर्क उनको छ। महतोको यस्तो अभिव्यक्तिकोे चौतर्फी आलोचना भइरहेका बेला शनिबार आयोजित एक कार्यक्रममा उनैले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि।’ नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधताले भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानुन, संविधान र सहभागिता हुनुपर्ने आफूहरूको मत रहेको बताउँदै उनले थपे, ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन। सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ। यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ। कसैले यो देशमा अब ठीकठाक छ, केही समस्या नै छैन भन्छ भने त्यो देश र जनताका लागि धोका हो।’

एमालेका वरिष्ठ नेता वामदेव गौतमले महतोको उक्त अभिव्यक्तिबाट आफू निकै दुःखी भएको बताएका छन्। उनले महतोले सञ्चालन गरेको कथित आन्दोलने नेपाललाई विखण्डन गर्ने बताएका छन्। ‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले संविधानको मर्मविपरीत कार्य गर्ने छैन भनी शपथ ग्रहण गरेको आधा घन्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको भन्दै दिएको अन्तर्वार्ता सुन्दा म अत्यन्त दुःखी भएको छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेका छन्। संविधानको धारा ३ मा नेपाल अनेकौं विशेषतासहितको राष्ट्र हो भनी लेखिएको जनाउँदै गौतमले लेखेका छन्, ‘संविधानको धारा ४ मा स्पष्ट भनिएको छ– अनेकौं विशेषतासहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ, त्यो नेपाल हो।’

महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन सक्दैन भन्दै नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन नसक्ने भन्दै गौतमले लेखेका छन्, ‘राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ। प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित भएको छु।’

एमालेका अर्का नेता गोकर्ण बिष्टले पनि नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति अराजक र संविधानविरोधी भएको बताएका छन्। पूर्वमन्त्रीसमेत रहेका विष्टले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रतिकूल छ,’ विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले पनि महतोको उक्त अभिव्यक्ति संविधानविपरीत भन्दै सर्वोच्च अदालतले उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने धारणा राखेका छन्। ‘नेपाल बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक देश हो तर एकल राष्ट्रवाद हो,’ यादवले भने, ‘नेपालको संविधानले कल्पना गरेको पनि यही हो।’ महतोले मधेसका जनतालाई ठग्न यस्तो अभिव्यक्ति दिएको यादवले बताए। मधेसविरोधी प्रधानमन्त्री ओलीसँग साँठगाँठ गर्न सरकारमा जानुले पनि महतोको नियत छर्लङ्ग भएको उनले बताए।

कानुन व्यवसायी भीमार्जुन आचार्यले महतोको अभिव्यक्ति संविधान विरोधी र आपत्तिजनक भएको बताए। ‘संविधानमा कहीँकतै पनि बहुराष्ट्रको कल्पना गरिएको छैन,’ आचार्यले भने, ‘संविधानको शपथ लिने व्यक्तिले संविधान विरोधी अभिव्यक्ति दिन मिल्दैन।’ नेपाल बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक देश हो भन्दै उनले भने, ‘नेपाल एक राष्ट्र हो।’ एमालेका नेता योगेश भट्टराईले पनि महतोको अभिव्यक्तिको विरोध गरेका छन्। पहिलो र दोस्रो संविधानसभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस शुक्रबार नियुक्त उपप्रधानमन्त्रीले पुनः उठाएर राम्रो संकेत नगरेको भन्दै उनले लेखेका छन्, ‘देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू।’

भट्टराईले लेखेका छन्, ‘संविधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ– बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो। अर्थात् विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो।’

प्रकाशित: २३ जेष्ठ २०७८ ००:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App