२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले जनताको आँखामा छारो हाल्ने काम गर्‍यो: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले जनतालाई झुक्याएर प्रतिनिधिसभा निर्वाचन जित्ने आशा गरेर बजेट ल्याएको आरोप लगाएको छ। पदाधिकारी बैठकको निर्णयअनुसार सरकारले शनिबार ल्याएको अर्थिक वर्ष २०७८/०७९को बजेटप्रति सोमबार संसदीय दलको कार्यलय सिंहदबारमा पत्रकार सम्मेलनमार्फत पार्टीको धारणा सार्वजनिक गरेको कांग्रेसले वैधानिकता गुमाएको सरकारले जनता झुक्याउन नयाँनयाँ नारा ल्याएको जनाएको हो। हचुवाको भरमा ल्याइएको बजेटले दीर्घकालीन दायित्व थपिने र मुलुकको अर्थतन्त्रमा गम्भीर क्षति पुग्ने पनि कांग्रेसले जनाएको छ।

‘कुनै पनि आँकडा हेर्दा पार लाग्ने देखिँदैन। यसैलाई देखाएर ठगेर निर्वाचन जित्न पाइन्छ कि भनेर नयाँनयाँ नारा ल्याइएको छ,’ केन्द्रीय सदस्य एवं छायाँ सरकारका अर्थमन्त्री मीनेन्द्र रिजालले भने, ‘बजेटको आकार ठूलो छ। सामाजिक सुरक्षा भत्ता र पूर्वाधारमा गरिनेबाहेक अरू सबै खर्च दुईदेखि तीन प्रतिशत बढाएको छ।’ अनुमानित खर्च र राजस्व संकलन पनि सम्भव नरहेको भन्दै कांग्रेसले संसदलाई छलेर राजस्व र व्ययको विनियोजन गर्ने र राष्ट्रिय ऋण उठाउन प्रस्तुत गरिएको भन्दै असनतुष्टि जनाएको छ। 

‘यो बजेट, सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य जनताका प्रतिनिधिको स्वीकृतिबेगर गर्न पाईदैन भन्ने स्थापित लोकतान्त्रिक मूल्य र मान्यता विपरित छ,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ विगत आम निर्वाचनमा जनतासमक्ष अनेकौं झुटा वाचा गरेर बनेको यो सरकारले निर्वाचन मार्फत साढे तीन वर्ष अघि आफूले प्राप्त गरेको जनअनुमोदनको आधार छिन्नभिन्न पारिसकेको छ।’

जनताको आँखामा छारो हाली शासन गर्ने मनोकांक्षाबाट सरकार ग्रसित रहेको भन्दै कांग्रेसले भनेको छ, ‘साढे तीन वर्षदेखिको शासनको असफलतापछि पनि हावादारी गफबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखि बनाउन सकिन्छ भन्ने भ्रमबाट सरकार अझै मुक्त हुन सकेको छैन।’

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, स्वास्थ्य उपचारमा गरिएको लापरवाही, कोरोना जोखिमबारे गैरजिम्मेवार र हल्का रूपमा प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिका कारण अघिल्लो वर्ष देश, जनता र अर्थतन्त्रले निकै ठूलो क्षति व्यहोर्नु परेको उसले जनाएको छ। कोरोना संक्रमण अत्यन्त तीव्र र भयावह रूपमा फैलिरहेको वर्तमान अवस्थामा क्षति अझ भयावह हुनसक्ने जोखिम रहेको भन्दै उसले भनेको छ, ‘बजेट वक्तव्यमा लेखिएका नारा खोप, औषधी, उपकरण, अस्पताल होइनन्।’  

सरकारले आफ्नो कार्यभार सम्हाल्दा सार्वजनिक ऋण ८०९ अर्ब रहेको उल्लेख गर्दै कांग्रेसले अहिले झण्डै दुई गुणाले बढेर १६ सय अर्ब पुग्न थालेको जनाएको छ। ‘प्रत्येक नागरिकमाथि परेको ऋणभार झण्डै ५५ हजार पुग्न थाल्यो,’ कांग्रेसले भनेको छ, ‘बहिर्गमनको बेला भइसक्दा पनि गफ र अहंकारमा रमाएको सरकारको चेत अझै फिरेको छैन।’ जेठ १५ सम्म ८५९ अर्ब कूल खर्च गरेको, यो आर्थिक अन्त्य वर्षसम्म १२६५ अर्ब कुल खर्च हुने संशोधित अनुमान गर्ने सरकारले अर्को आर्थिक वर्ष यस्तो खर्च ३० प्रतिशतले खर्च बढाउने महत्वकांक्षी लक्ष्य राखेको आरोप लगाएको छ।

सरकारले अहिलेसम्म कुनै वर्ष पनि राजस्व ८५० अर्ब पुर्‍याएको छैन भन्दै कांग्रेसले जेठ १५ गते सम्ममा ७७८ अर्ब राजश्व संकलन भएको उल्लेख गरेको छ। असार मसान्त सम्मको संशोधित लक्ष्य ९६० अर्ब राखिएको भन्दै बाँकी डेढ महिनामा १८२ अर्ब राजस्व संकलन सम्भव नभएको दाबी गरेको छ। ‘यही वर्षमा पनि स्वदेशी र विदेशी ऋणको भार थपिने प्रष्ट छ,’ उसले भनेको छ, ‘कोरोना संक्रमणबाट संत्रस्त नागरिकबाट आगामी वर्ष १ हजार १५२ अर्ब राजस्व संकलन गर्ने योजना विफल हुने निश्चित छ।’

बजेट वक्तव्यमा भनिए जस्तो अर्थतन्त्रको विस्तार ६.५ प्रतिशत हुने सम्भव नभएको जनाएको छ। कोभिड संक्रमणको दोसे लहरका कारण यो वर्ष पनि सरकारले अनुमान गरे झैं अर्थतन्त्र ४ प्रतिशतले विस्तार हुनु सट्टा सिमान्त रूपमा मात्रै विस्तार हुने जनाउँदै कांग्रेसले भनेको छ,‘ यस्तो विपद परिस्थितिमा सरकारले कोभिड रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो कार्ययोजना ल्याउन सकेको छैन।’ कोरोना कहरबाट आफन्तजन गुमाएका, आफै संक्रमणमा परेका, रोजगारी गुमाएका वा त्यस्तो जोखिममा परेका तथा अर्थतन्त्रको गतिहिनता र राजनीतिक दाउपेच, खिचातानीबाट आजित र निरास नागरिकबीच बजेटले कुनै पनि आशा जागृत गर्न नसकेको कांग्रेसको दाबी छ।

प्रकाशित: १८ जेष्ठ २०७८ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App