१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गणतन्त्रको अनुभूति गर्न पाइएको छैन : रिसाल

वरिष्ठ पत्रकार भैरव रिसालले स्वार्थी नेताहरुका कारण गणतन्त्रको अनुभूति गर्न नपाएकोटिप्पणी गरेका छन्। देशले १४ औं गणतन्त्र दिवस मनाइ रहँदा वरिष्ठ पत्रकार रिसालले आफूले मात्र नभएर आम जनताले पनि गणतन्त्रको महशुस गर्न नपाउनु दुःखद् भएको गरेका हुन्।   

दिवसको विषयमा नागरिकसँग संक्षिप्त कुराकानी गर्दै उनले गणतन्त्र सिद्धान्तमा पाइएको तर व्यवहारमा नपाएको बताए। ‘व्यवहारमा गणतन्त्र पाइएको छैन, सिद्धान्तमा पाइयो।’

उनले आफूलाई गणतन्त्रका हिमायती सम्झने विभिन्न दलका नेता र नेतृत्वले नै गणतन्त्रबारे बुझ्न नचाहेको बताउँदै नेपालमा गणतन्त्रलाई संस्थागत विकास गर्न नचाहँदा गणतन्त्र कलिलो उमेरमै धरापमा पर्ने हो कि भन्ने आम जनतामा चिन्ता बढेको बताए। ‘नेता र नेतृत्वको गणतन्त्रप्रति आस्था कति छ? मूलत :यो पनि प्रश्न छ। गणतन्त्रको लागि त आस्था र निष्ठा चाहियो,’ उनले भने, ‘त्यो नेताहरुमा पर्याप्त पाएको छैन मैले र नेताहरुकै कारण गणतन्त्रको अनुभूति गर्न पाइएन।’

उनले गणतन्त्रलाई अनुभूत गर्नका लागि जनता नै जागरुक हुनुपर्ने र नेता इमान्दार हुनुपर्नेमा पनि जोड दिए। ‘जनता चुनावमामात्रै जागरुक हुने, चुनावपछि जागरुक नहुने अवस्था भयो, यसको फाइदा नेताहरुले उठाउन थाले, नेताहरु इमान्दार भएनन्।’ उनले थपे।

सत्तामा जाने नेताहरु, सत्तासीन नेताहरु, सत्ता खोज्ने नेताहरुका कारण गणतन्त्रको अनुभूति गर्न नपाएको बताउँदै उनले भने, ‘गणतन्त्र भनेको सजिलो विषय हैन, यसलाई सजिलो बनाउनुपर्ने नेता र नेतृत्वहरुले, पार्टीहरुले, उहाँहरुको ध्यान त्यतातिर गएन, आफू कसरी सत्तामा जाने, सत्ता कसरी उपभोग गर्ने, सत्ताबाट कसरी फाइदा लिने भन्नेतिरमात्र केन्द्रीत भए, जनतालाई हेर्नुपर्ने नेताले आफूलाई मात्र हेरे।’

प्रकाशित: १५ जेष्ठ २०७८ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App