२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

निषेधाज्ञामा भएको कडाइले दिएको सन्देश

प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले चाल्नसक्ने अन्य सम्भावित कदमहरूमा सहजता होस् भनेर निषेधाज्ञामा कडाइ भएको सरकारको क्रियाकलापले देखाएको छ। बुधबार प्रधानमन्त्री केपी ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणमा आउन लागेको बताइरहँदा १४ गते शुक्रबारदेखि हुने निषेधाज्ञामा कडाइको कुरालाई खण्डन गर्दछ। प्रधानमन्त्री ओलीकै भनाइअनुसार पनि अब निषेधाज्ञामा कडाइको आवश्यकता छैन, अहिलेकै निषेधाज्ञाले काम गरिरहेको छ भन्ने देखिन्छ। अहिलेकै जस्तो निषेधाज्ञा नगरीकन कडाइ गर्नुभन्दा सरकारले कोरोनाविरुद्धको खोप, अक्सिजन सिलिन्डरको पर्याप्तता, पिसिआर परीक्षणमा तीव्रता गर्न सके हुन्थ्यो भन्ने मत विज्ञहरूको छ।  

प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध विपक्षी गठबन्धनले मोर्चाबन्दी सुरु गरेर आन्दोलन गर्ने तयारी गरिरहेकाले उनले कुनै पनि बेला हुने सम्भावित आन्दोलन रोक्न सडकमा आवागमनमा कडाइ गर्न खोजेको देखिएको एक नेताले बताए। प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार विपक्षी गठबन्धनका १ सय ४६ सांसदले हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। 

प्रधानमन्त्री ओलीले अध्यादेशबाट महत्वाकांक्षी बजेट ल्याउँदा हुनसक्ने आन्दोलन, अदालतमा प्रतिनिधिसभा विघटनको विषयमा हुने सुनुवाइलाई सडकबाट प्रभावित पार्न नदिने रणनीतिस्वरुप निषेधाज्ञामा कडाइ गर्न लगाएको हुनसक्ने विपक्षी गठबन्धनको आशंका रहेको छ। यति मात्र नभएर प्रधानमन्त्री ओलीले स्वास्थ्य संकटकाल पनि लगाउन सक्ने देखिएको छ। मंगलबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकालको कुरा गर्नुको पछाडि सडकमा आन्दोलन गर्दै भीड बढ्न थाल्यो भने अवश्य पनि स्वास्थ्य संकटकाल लगाउने र भीड नियन्त्रण गर्ने रणनीति देखिएको एक विश्लेषकले भने।  

प्रतिनिधिसभा विघटनको मुद्दा यसपालि अदालतले छिटो फैसला गर्ने अनुमान लगाइएको छ। संसद् विघटन सदर भए आन्दोलन हुनसक्ने सम्भावनालाई सरकारले सतर्कताका साथ हेरिरहेको स्रोत बताउँछ। ‘म यसो गर्छु, मैले यो गरें भने आन्दोलन हुनसक्छ, त्यसैले यो समयसम्म कोरोनाको रोकथाम गर्दिनँ, आन्दोलन रोक्न कोरोनाको नाममा सडकमा आवागमनमा कडाइ गर्न पाइन्छ’ भन्ने सोंचमा प्रधानमन्त्री रहेको एक वरिष्ठ नेताले बताए। वैशाख २७ गते विश्वासको मत माग्नु, जेठ ६ गते धारा ७६(५) को प्रधानमन्त्री बनाउन राष्ट्रपतिसँग सिफारिस गर्नु, जेठ ७ गते मध्य राति प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्रीका छलकपटपूर्ण हर्कत भएको उनले बताए।  

प्रतिनिधिसभा विघटनको मुद्दा यसपालि अदालतले छिटो फैसला गर्ने अनुमान लगाइएको छ। संसद् विघटन सदर भए आन्दोलन हुनसक्ने सम्भावनालाई सरकारले सतर्कताका साथ हेरिरहेको स्रोत बताउँछ। ‘म यसो गर्छु, मैले यो गरें भने आन्दोलन हुनसक्छ, त्यसैले यो समयसम्म कोरोनाको रोकथाम गर्दिनँ र आन्दोलन रोक्न कोरोनाको नाममा सडकमा आवागमनमा कडाइ गर्न पाइन्छ’ भन्ने सोंचमा प्रधानमन्त्री रहेको ती नेताले बताए।

सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। विज्ञहरूले चुनाव घोषणा गरेको कामचलाउ सरकारले महत्वाकांक्षी बजेट ल्याउन नपाउने बताइरहेका छन्। उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले गत वैशाख १६ देखि जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ देखि थप एकसाता बढाउँदै कडाइ गर्ने निर्णय गरेको छ।

गत वैशाख १६ गतेदेखि घरभित्र बसिरहेका नागरिकलाई बिहानबेलुकाको छाक टार्न मुस्किल परिरहेका बेला थप कडाइ गरेर जाँदा गरिब र न्यून आय भएका मानिस भोकै मर्ने बेला हुन लागेको अवस्थामा सरकारले राहतको कुरै नगरी निषेधाज्ञालाई कडाइ गरेको आरोप विपक्षी दलले लगाएका छन्। 

नेपाली कांग्रेसको बुधबार बसेको पदाधिकारी बैठकले पनि सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न पर्याप्त औषधि उपकरण, कन्ट्याक्ट ट्रेसिङ, भेन्टिलेटर, अक्सिजन र खोपको व्यवस्था गरेर जनताको उपचार गर्नुको साटो निषेधाज्ञामा कडाइ गरेको ठहर गरेको थियो। कांग्रेसले ‘कोभिडको महामारीका सम्बन्धमा केही समयअघि १५ बुँदे ज्ञापनपत्र दिएको थियो। तर, सरकार अहिले पनि कोभिड संक्रमणलाई रोक्नेभन्दा पनि यसको आडमा राजनीति गर्न खोज्दै गएको कांग्रेसका एक नेताले बताए। ‘सरकारले एक/दुई दिनभित्र किनमेल गर भनेर भनेको छ, यस्तो गर्दा राहत पनि दिनुपर्दछ,’ उनले भने।  

सरकारले अक्सिन, अस्पताल, पिसिआर परीक्षण र खोपको कुरालाई महत्वका साथ अघि बढाउनु पर्दथ्यो। विदेशीसँग सहयोग मागे अवश्य पनि सहयोग आउने थियो तर सरकारले पहल नगरेको विपक्षीको भनाइ छ। राज्यको अवैधानिक क्रियाकलापविरुद्ध अदालत पनि जान नपाओस्, भोकै घरमै मरोस् र औषधि उपचार पनि गर्न नपाओस् भन्ने व्यवहार सरकारले गर्न लागेको एक नेताले बताए। शुक्रबारदेखि नागकिरहरू तरकारी किन्न जाने, मर्निङ वाकमा जाने, पसल खोल्ने जस्ता कुरामा कडाइ गर्दा एकसाता उपत्यकामा निकै सकस हुने देखिन्छ ।

प्रकाशित: १३ जेष्ठ २०७८ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App