६ वैशाख २०८१ बिहीबार
राजनीति

निषेधाज्ञा थप कडा पारिनेछ नआत्तिई यस अभियानमा साथ दिनुहोस्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी नियन्त्रणका लागि सरकार लागि परेको बताउँदै सर्वसाधारणलाई नआत्तिई यस अभियानमा साथ दिन आग्रह गरेका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले निषेधाज्ञा थप कडा पार्ने बताएका हुन्। उनले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने बताउँदै स्थलमार्गबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको जानकारी दिए।

त्यस्तै प्रधानमन्त्री ओलीले प्रदेश केन्द्रित हुने गरी सरकारका एकएक मन्त्रीलाई फोकल व्यक्ति तोकिएको बताए। हाल कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भनेर ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। ‘यही २०७८ वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको छ। २०७८ वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको छ।  

स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको छ। नेपाली नागरिक प्रवेशका लागि नेपाल–भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको छ। आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत् सञ्चालन हुने व्यवस्था मिलाइएको छ। भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र प्रवेश गर्ने व्यवस्था मिलाइनेछ। सबै तहमा कन्ट्याक ट्रेसिङ बढाउन लगाइएको छ। स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिन छ। कोही संक्रमित पाइएमा उनीहरूलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको छ’, प्रधानमन्त्री ओलीको सम्बोधनमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र हजार बेडको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको, वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै बेड भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने बताए। प्रदेश सरकारले पनि मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई ननकोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने, सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघरलगायतका संरचना प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टर प्रबन्ध गर्न लगाइएको, सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध बेड र तीमध्ये प्रयोग भएका वा नभएका बेडको दैनिक विवरण अद्यावधिक गरी तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्ने, कुनै अस्पतालले विवरण पूरा नपठाई लुकाएको भेटिएमा कारबाही हुने प्रधानमन्त्रीले बताए।

ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट स्थापना गरिने, सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने, लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिने, लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने, देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचार प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको पनि ओलीले सम्बोधनको क्रममा बताए।

प्रकाशित: २१ वैशाख २०७८ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App