coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘सरकार संकटमा पर्न थालेपछि अधिवेशन अन्त्य’

प्रतिनिधिसभाको हिउँदे अधिवेशन सोमबार एकाएक अन्त्य हुनुमा सरकारमाथि मडारिएको संकट मुख्य कारक रहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार १ बजे बोलाएको प्रतिनिधिसभा बैठकका लागि आवश्यक तयारी गरिरहेका बेला उनीसँग परामर्श नगरी सरकारले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।  

सत्तारुढ एमालेसँगको सहमतिमा सभामुख सापकोटाले मंगलबारका लागि प्रतिनिधिसभा बैठक बोलाएका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारले सभामुखसँग परामर्श नगरी अधिवेशन अन्त्य गर्नु संसदीय अभ्यासविपरीत हो। ओली सरकारको यो कदमले सभामुखको मात्र होइन, संसदीय व्यवस्थाको पनि अपमान भएको राजनीतिक विष्लेषण छ। प्रायः संसद् अधिवेशन अन्त्य राति ९ बजेदेखि लागू हुनेगरी गरिएको इतिहास छ।

तर यो अधिवेशन दिउँसो १ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको छ। राष्ट्रपतिबाट पठाइएको अधिवेशन अन्त्य भएको पत्रमा सभामुखलाई सम्बोधन गरिएको छ। यसअघि संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरेर अधिवेशन अन्त्यको पत्र पठाइन्थ्यो। गएको बर्खे अधिवेशन अन्त्यको सिफारिस गर्दा पनि सभामुखसँग सल्लाह गरिएको थिएन। ‘बर्खे अधिवेशनमा पनि ओलीलाई आफूविरुद्धको अविश्वासको प्रस्तावको भय थियो भने अहिले पनि उनलाई त्यसैको भयले सताएको हो,’ स्रोतले भन्यो।  

प्रधानमन्त्री ओलीले संसद्लाई यसरी अपमान गरिरहँदासमेत अन्य राजनीतिक दल मूकदर्शक बन्नुले पनि नेपालको राजनीति निकै जटिल मोडमा रहेको बुझ्न सकिन्छ। मुख्यगरी नयाँ सत्तासमीकरणमो मुख्य भूमिकामा देखिएको जनता समाजवादी पार्टीले निर्णय लिन नसक्दा राजनीति अन्योलग्रस्त बनेको स्रोतको दाबी छ।  

प्रधानमन्त्री ओलीले आफूमाथि समस्या आउने देखेर त्यसबाट बच्न एकाएक प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको माओवादीका एक नेताले बताए। ‘प्रधानमन्त्री ओली संसद्लाई सधैं नियन्त्रणमा राख्न चाहन्छन्। नियन्त्रण गर्न नसक्दा उनले प्रतिनिधिसभा विघटन गरे। अधिवेशन अन्त्य त उनका लागि कुनै ठूलो कदम होइन,’ ती नेताले भने।  

प्रतिनिधिसभामा कुनै पनि बेला आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने र माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने अवस्था देखेपछि यसबाट जोगिन प्रधानमन्त्रीले हतारमा अधिवेशन अन्त्य गरेको स्रोतको दाबी छ। स्रोत भन्छ, ‘प्रधानमन्त्री ओलीले पटकपटक माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिइरहे पनि आखिर उनी डराएर भागेको त प्रष्टै देखियो। प्रधानमन्त्रीको बोलीमा कति झुट लुकेको छ भन्ने यसैबाट प्रष्ट हुन्छ। ’  

प्रधानमन्त्री ओलीमा आफू नेतृत्वको सरकारविरुद्ध आउन सक्ने चुनौतीको सामना गर्ने आँट नभएको अधिवेशन अन्त्यले पुष्टि गरेको टिप्पणी राजनीतिक क्षेत्रमा भइरहेको छ। स्रोतका अनुसार कर्णाली प्रदेशमा हात लागेको असफलताले ओली यतिबेला धर्मसंकटमा परेका छन्, गण्डकी प्रदेशमा पनि ओली समूह संकटमै छ, यस्तो अवस्थामा ओलीले आफ्नो पनि पद गुम्छ कि भनेर अधिवेशन अन्त्य गरेका हुन्। माओवादी केन्द्रले ओलीको विकल्पमा सरकार गठन गर्ने विषयमा निर्णय गर्न सोमबार स्थायी कमिटी बैठक बोलाएको थियो।

माओवादी बैठक बस्न नपाउँदै ओलीले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरे। प्रतिनिधिसभा अधिवेशन अन्त्य गरे पनि राष्ट्रपतिसमक्ष समावेदन गरेर पनि विशेष अधिवेशन बोलाउन सकिन्छ। तर, त्यस्तो अवस्थामा प्रधानमन्त्री ओलीलाई खेल्ने ठाउँ बढी हुने स्रोत बताउँछ। प्रधानमन्त्री ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा उनको मुख्य जोड अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गर्नुमा थियो।

एमसिसीलाई कार्यव्यवस्था परामर्श समितिमा छलफलको विषय बनाउने विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि सहमत थियो। कार्यव्यवस्था परामर्श समितिको सुभावपछि सभामुखले पनि एमसिसीलाई रोक्ने अवस्था आउने थिएन। वास्तविक रूपमा प्रधानमन्त्री ओलीले एमसिसी पास गर्ने भए यसलाई प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा बहसको विषय बनाउनु पथ्र्यो, तर उनले एमसिसीका नाममा राजनीतिमात्र गरेको स्रोतले बतायो। सभामुखको भूमिकालाई लिएर आलोचना गरेका प्रधानमन्त्री ओलीले अधिवेशनभर एउटा पनि नयाँ विधेयक प्रतिनिधिसभामा दर्ता गराएनन्। त्यहाँ रहेका दर्जनौं विधेयकमध्ये कुनैलाई पनि अघि बढाउन नदिएको स्रोतले बतायो। उनले अध्यादेश अनुमोदनका लागि पनि प्रतिनिधिसभा बैठकमा लग्न दिएनन्।

प्रकाशित: ८ वैशाख २०७८ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App