५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशः जोगियो माओवादी नेतृत्वको सरकार

पार्टी ह्विप उल्लंघन गर्दै नेकपा एमालेका चार सांसदले मत दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा आफूप्रति विश्वास रहेको पुष्टि गर्न सफल भएका छन् । एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापा र देवी ओलीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । तीमध्ये ओलीले भने पछि मत फिर्ता लिएकी थिइन् ।

ज्वाला मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् । मुख्यमन्त्रीका पक्षमा विश्वासको मत दिएका एमाले सांसद माधवकुमार नेपाल समूहका हुन् । ज्वाला एमाले नेपाल समूहका कर्णाली प्रदेश अध्यक्ष हुन् । मतदान हुनुअघि शुक्रबार प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले व्यक्तिगत सम्बन्धका आधारमा आफ्ना सांसदले फ्लोर क्रस गरे कारबाही गर्ने चेतावनी दिए पनि त्यसले काम गरेन ।

४० सदस्यीय प्रदेशसभा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी एमालेमा प्रवेश गरेर कारबाहीस्वरुप सांसद पद खोसिएपछि ३९ सदस्यीय बनेको थियो । माओवादी केन्द्रका शाहीलाई मुख्यमन्त्री कायमै रहन २० सांसदको समर्थन आवश्यक थियो । आफ्नै पार्टीका १२ र नेपाली कांग्रेसका ६ जना जोड्दा पनि विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था थिएन । एमालेसँग सभामुखसहित २० जना सांसद छन् । ‘नेपाल समूहका सांसदको आश्वासनका कारण गणितीय हिसाबले अल्पमतमा हुँदाहुँदै पनि विश्वासको मत लिने आँट मुख्यमन्त्रीले गर्नुभएको थियो,’ माओवादी केन्द्रका सांसद ठम्मर बिष्टले भने, ‘हामीले जे रणनीति अपनाएका थियौं, सफल भयौं ।’

कर्णाली प्रदेशका २० एमाले सांसदमध्ये ९ जना नेपाल समूहका छन् । नेपाल समूहको नेतृत्व ज्वालाले गर्दै आएका छन् । प्रदेश संरचनाको सुरुको विन्दुदेखि नै मुख्यमन्त्री शाही र ज्वालाबीच राजनीतिकसँगै व्यक्तिगत सम्बन्ध घनिष्ट छ । केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको द्वन्द्वको फाइदा पनि कर्णालीका मुख्यमन्त्री शाहीलाई मिल्यो ।

राप्रपाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एकमात्रै सांसद सोशीला शाही भने मतदान सुरु हुनुअघि नै बैठक कक्षबाट बाहिरिएकी थिइन् । उनलाई कँडेल समूहले मन्त्री बनाउने आश्वासन दिएकाले उनी मत जाहेर नगरी बाहिरिएको राप्रपाकै एक नेताले बताए । मतदानमा सहभागी ३७ सांसदमध्ये माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जनाले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरे भने विपक्षमा १५ मत खस्यो ।  

मन्त्रिमण्डल पुनर्गठन गर्छौं : मुख्यमन्त्री

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ ढंगले सत्ता समीकरण भएकाले सोही अनुसार मन्त्रिमण्डल पुनर्गठन गर्ने बताएका छन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि नागरिकसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले विश्वासको मत दिने नेपाली कांग्रेससहित फ्लोर क्रस गरेर मतदान गरेका एमाले सांसदलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरिने बताए । ‘सरकारलाई समर्थन गरेका नेपाली कांग्रेससहित अन्य माननीयलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,’ शाहीले भने, ‘नीति, कार्यक्रम र बजेटको तयारी गर्नुपर्ने बेला भइसकेकाले यो काम केही दिनभित्रै हुन्छ ।’

चार सांसदलाई कारबाही सिफारिस

नेकपा एमाले संसदीय दलको बैठकले कर्णाली प्रदेशका चार सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिन सहयोग गरेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मर थापा र कुर्मराज शाहीलाई कारबाहीका लागि सिफारिस गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । ‘उहाँहरूलाई दलीय व्यवस्था र ऐनअनुसार गर्न मिल्ने कारबाही गरिएको छ,’ उनले भने ।

प्रकाशित: ४ वैशाख २०७८ ००:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App