१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश १ः प्रदेशसभाको गतिरोध हटाउने प्रयास असफल

अधिवेशन अन्त्य गरे विशेष अधिवेशन बोलाउने प्रतिपक्षी दलको चेतावनी

प्रदेश १ को प्रदेशसभा बैठकको गतिरोध हटाउने प्रयास असफल भएको छ । आइतबारको सर्वदलीय बैठक विना निश्कर्ष टुंगिए पछि चैत २६ गते र २७ गते लगातार स्थगित भएको प्रदेशसभा बैठक ३० गतेलाई राखिएको छ । तर, आइतबार संसद बैठक सुचारु गर्ने विषयमा ठोस निर्णय नभएपछि ३० गतेका लागि बोलाइएको बैठक पनि स्थगित हुने देखिएको छ । आइतबारको बैठकमा मुख्य मन्त्री उपस्थित नभएपछि बैठकले संसदको गतिरोध हटाउने विषयमा कुनै निर्णय गर्न नसकेको हो ।  

सोमबारलाई बोलाइएको बैठकअघि आफूहरूको माग सम्बोधन गर्ने मुख्यमन्त्रीबाट प्रतिबद्धता नआए सोमबारको बैठक पनि अवरुद्ध पार्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले आफूहरूले बजेट कार्यान्वयनको माग गराख्दै आए पनि सरकारले आफूहरूको माग सम्बोधन गर्न कुनै चासो नदेखाएको कार्कीको भनाइ छ ।

‘बजेट कार्यान्वयन गर्न र विकास निर्माणको अयोजना सञ्चालनको सुनिश्चतता गर्न हामीले माग राख्दै आएका छौं’ कार्कीले भने,‘हाम्रो माग पूरा गर्ने मुख्यमन्त्रीबाट प्रतिबद्धता नआएसम्म संसदको बैठक सुचारु हुन सक्दैन ।’ यसैबीच प्रदेश १ को सरकारले संसद बैठकनै स्थगित गर्ने चर्चा पनि चल्न थालेको छ । तर, प्रतिपक्ष दलहरूले भने संसदमा आफूहरूले उठाएका मागको सम्बोधन नगरी संसद अधिवेशन स्थगित गरे सरकारले नराम्रो परिणाम भोग्नु पर्ने चेतावनी दिंदै आएका छन् । 

प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले सरकारले अधिवेशन अन्त्य गरे प्रतिपक्षी दलहरूले विशेष अधिवेशन बोलाउने चेतावनी दिएको छ । प्रदेश १ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दल जनता समाजवादी पार्टीलगायतले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको माग गर्दै संसद बैठक स्थगित गर्दै आएका छन् । प्रतिपक्षी दलहरूको बिरोधका कारण चैत २६ र २७ गतेको प्रदेशसभा बैठक अवरुद्ध भएको थियो ।

प्रकाशित: २९ चैत्र २०७७ १५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App