८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

फागुन २८ को निर्णय फिर्ता लिए विगतका कुरा बिर्सन्छौः माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता  माधवकुमार नेपालले फागुन २८ गतेको पार्टीको निर्णय फिर्ता लिए विगतका सबै कुरा बिर्सिन तयार रहेको बताएका छन् । आफु निकट समुहको विहीबार पोखरामा भएको जिल्लास्तरीय भेलामा नेपालले पार्टीको नाममा बैठकको निर्णय खारेज गरे आफूहरु पुराना कुरा बिर्सिन तयार रहेको बताए ।  

‘त्यो बैठक अवैधानिक थियो भनेर स्वीकार्नु प¥यो,’ उनले भने,‘त्यो निर्णय खारेज गरेर सर्वोच्चको फैसला अनुसार २०७५ जेठ २ गतेमा फर्किन्छन् भने हामी फेरि नयाँ ढंगले जान तयार छौं ।’ तर अध्यक्ष केपी शर्मा ओली मान्न तयार हुन्छन् जस्तो आफूलाई नलागेको उनले बताए । ओलीले अहिले आफूलाई असुरक्षित महसुस गरेको, प्रधानमन्त्री र अध्यक्ष पद गइहाल्छ कि भन्ने रहेको उनको भनाई छ । ‘ओलीलाई देश र जनताको चिन्ता छैन, केवल अध्यक्ष र प्रधानमन्त्री पद जान्छ कि भन्ने चिन्ता छ ।’ नेपालले केपी ओली जाली नम्बर १ भएको टिप्पणी गरे ।  

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले केपी ओली अहिले पार्टी भत्काउन लागिपरेको आरोप लगाए । त्यहि भएर उनले अहिले विधि, विधान पालना नगर्ने गरेको भन्दै उनले थपे, ‘किनभने उनलाई कम्युनिष्ट पार्टी बनाउनु छैन । कम्युनिष्ट पार्टीलाई कम्पनी र गुटको रुपमा चलाउन चाहन्छन् ।’ केपी ओलीले कम्युनिष्ट पार्टी सिध्याउन नसक्ने र सिध्याउन नदिनेपनि उनले दृढता व्यक्त गरे । त्यसका लागि प्रचण्ड, वैद्य, मोहनविक्रम सिंह लगायतसँग गठबन्धन गरेर अगाडि बढ्ने उनले बताए ।  

केपी ओलीलाई कम्युनिष्ट पार्टी नभई अर्कै पार्टी बनाउन उनले सुझाव दिए । पार्टीको नाम फेर्नेबारे ओलीले छलफल शुरु गरेको आफूले जानकारी पाएको भन्दै उनले भने, ‘केपी ओलीले जनता पार्टी वा समाजवादी पार्टी बनाउन्, यो उनको कुरा हो । उनीसँग पछि लाग्नेहरु उनीसँगै सति जाउन् । तर हामी सति जान्नौ । यो पार्टीको जग हामीले बसाएका छौं ।’

केपी ओली अहिले स्वार्थीहरुको जमात र दलाल पुँजीवादीको घेरा भित्र रहेकाले उनले कम्युनिष्ट पार्टी चलाउनै नसक्ने नेपालले बताए । अहिले केहीले मन्त्री पद त केहीले नियुक्ति पाएकाले ओलीको भजन गाइरहेको भन्दै उनले भने, ‘तर ती व्यक्तिपनि पछुताउनु पर्नेछ । समाजले थुकेपछि, औंलो ठड्याएपछि ती न घरका न घाटका हुनेछन् ।  

नेता नेपालले आफु र आफ्ना पक्षका नेतालाई कारवाही गर्दैमा नआत्तिन आग्रह गरे ।  उनले भने, ‘म आत्तिएको छैन, तपाईंहरु नआत्तिनुस्, किनकी तपाईंह्रुको पक्षमा हामी छौं ।’ उनले गत चुनावमा गण्डकी प्रदेशमा ओलीका हनुमानहरुले आफू पक्षकालाई छिर्न नदिएको आरोप लगाए । 

प्रकाशित: १९ चैत्र २०७७ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App