११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले संविधानसभा सदस्यद्वय नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले पूर्वउद्योगमन्त्रीसमेत रहेका जोशी र कांग्रेस नेत्री भण्डारीको निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा जोशी र भण्डारीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। बैठकले जोशीको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

निष्ठावन्, इमान्दार, जुझारु र जनसेवामा समर्पित नेता एवम् लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका जोशीको ५९ वर्षको उमेरमा यही चैत १३ गते थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ८ बाट निर्वाचित सदस्य थिए।

त्यस्तै, कांग्रेसका तर्फबाट विसं २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित एवम् लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका भण्डारीको ६८ वर्षको उमेरमा चैत १६ गते ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। बैठकले स्व भण्डारीको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: १८ चैत्र २०७७ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App