६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन तालिका फेरि संशोधन

नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ। पटकपटक संशोधन हुँदै आएको महाधिवेशनको कार्यतालिका हेरफर गर्न कांग्रेसले चैत २० गते केन्द्रीय समितिको बैठक बोलाएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी र सदस्यता छानबिन समितिको बैठकले संशोधित कार्यतालिका प्रस्ताव गर्न सदस्यता छानविन समितिलाई नै आग्रह गरेको छ। सोमबार दिउँसो २ बजेसम्म ४० प्रतिशत मात्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम भएपछि पदाधिकारी बैठकले अन्तिम मितिलाई कायमै राख्दै महाधिवेशनको संशोधित कार्यतालिका ल्याउन रमेश लेखक नेतृत्व समितिलाई भनेको हो।  

संशोधित पछिल्लो कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि कांग्रेसले चैत १० गतेसम्मको समय दिएको तोकेको थियो। तर, सोमबारसम्म हुम्ला र पाल्पाबाहेक कुनै जिल्लाबाट सदस्यता आएको छैन। बारा, पर्सा, सिराहा, सप्तरी, धनुषा, डोल्पा, सिन्धुपाल्चोकसहितका नौ जिल्लामा अहिलेसम्म सदस्यता वितरणको काम सुरु हुन सकेको छैन। ६८ जिल्लाका १ सय ३६ स्थानबाट मात्र अहिलेसम्म सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ। सोमबार दिउँसो २ बजेसम्म १ लाख ८० हजार २ सय ७५ जनाको नयाँ सदस्यता दर्ता भएको छ भने २ लाख १२ हजार ५ सय १९ जनाको नवीकरण दर्ता भएको छ।  

सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेले अहिलेसम्म ४० प्रतिशत मात्र काम सकिएकाले अझै १५/२० दिन सदस्यता नवीकरण र वितरणका लागि समय आवश्यक पर्ने जानकारी दिए। ‘केन्द्रीय समितिको बैठकले महाधिवेशनको अन्तिम मिति कायम राखेर अन्य कार्यतालिका हेरफेर गर्नेछ,’ घिमिरेले भने।  

बैठकमा नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरण अझै अघि नबढेकोप्रति असन्तुष्टि जनाएका थिए। विवादका कारण सदस्यता वितरणअघि नबढेका जिल्लाहरूमा छानबिन समिति मात्र नभएर अन्य नेताहरूलाई पनि खटाउन आग्रह गर्दै पौडेलले एक वर्षअघिदेखि नै आफूले भनेको कुरा नमान्दा पार्टी संकटमा पर्न लागेको तर्क गरेका थिए। पौडेलले बैठकमा भने, ‘मैले पहिला नै भनेको होइन, त्यसलाई नमान्दा अहिलेको अवस्था आइपर्‍यो। कसरी हुन्छ छिटो टुंगो लगाउँ।’  

विधानको व्यवस्थाअनुसार पाँच वर्षे कार्यताल गुजारी सके पनि कांग्रेस संबैधानीक व्यवस्थालाई टेक्दै छ महिना समय लिएको छ। सोहीअनुसार कांग्रेसले भदौ ७ देखि महाधिवेशन गर्ने पछिल्लो पटक कार्यतालिका ल्याएको छ।

‘नयाँ सरकारका लागि पहल गरौ’

कांग्रेस नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्व सरकारको विकल्प दिन पार्टीले अग्रसरता लिनुपर्ने धारणा राखेका छन्। ओलीले व्यवस्था (संघीय लोकतान्त्रिक गणतन्त्र) नै समाप्त गर्न लागेको आरोप लगाउँदै पौडेलले कांग्रेसले लोकतान्त्रिक शासन व्यवस्था जोगाउनका लागि पहल लिनुपर्ने धारणा राखेका हुन्। त्यसका लागि सर्वदलीय बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै पौडेलले पार्टी र मुलुकको शासन व्यवस्था जोगाउन कांग्रेसले अग्रसरता लिनुपर्ने भन्दै पौडेलले पार्टीले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने धारणा राखे। ‘नयाँ सरकार गठनको प्रक्रिया थाल्नका लागि कांग्रेसले पहल थाल्नुपर्‍यो,’ पौडेलले बैठकमा भने, ‘सभापतिले अग्रसरता लिनुपर्‍यो ओलीको विकल्प दिनुपर्‍यो।’  

तर, पौडेलको प्रस्तावमा पदाधिकारी बैठकमा कुनै छलफल भएन। पार्टीको क्रियाशील सदस्यता र अन्य विषयमा छलफल हुँदा ढिला भएको जानकारी दिँदै बैठकमा सहभागी एक नेताले भने, ‘रामचन्द्र दाइबाट विषय प्रवेश भए पनि ढिला भएकाले अर्को बैठकमा कुरा गराैंला भनेर सकियो। सरकार गठनका विषयले बैठकमा खासै महत्व पाएन।’

प्रकाशित: १० चैत्र २०७७ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App