८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेता नेपाललाई एक्ल्याउने रणनीति

फाइल तस्बिर

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता रहेका माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन्। पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारबाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन बाध्य पार्ने नीति लिएका छन्।  

नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि ओली पक्षले पनि भटाभट कारबाही गर्ने वा नेपाल समूहका नेतालाई एक्लाएक्लै भेटेर त्यस्ता कमिटीमा नबस्न आग्रह गर्ने, नमाने तर्साउने नीति लिएको छ। ‘हामीले नेपाल पक्षमा रहेका केही साथीलाई सो समूहको भेलामा नजानुस्, जाँदा कारबाही हुन्छ, पार्टीको अनुशासन उल्लंघन हुन्छ, अनुशासनको कारबाही हुन्छ भनेर सम्झाएका छौं’, ओली निकट एक नेताले भने। उनले नेपाल समूहका सांसद र केन्द्रीय सदस्यसँग बेग्लाबेग्लै कुराकानी भइरहेको बताउँदै केही समयपछि नेपालमात्रै एक्लै हुनेगरी नेताकार्यकर्ता ओली पक्षमा आउने दाबी गरे। शनिबार मात्रै ओलीले अब केही दिनमा नेपाल पक्षका धेरै नेता आफ्नो टिममा आउने दाबी गरेका थिए। केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले नेपालसँगै केही नेताको समेत राजनीतिक भविष्य अन्योलमा पर्ने दाबी गरेका थिए।  

बालुवाटारका केन्द्रीय कमिटीको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ ज्ञापनपत्र बुझाउन जाँदा ओलीले व्यक्तिगत कुराकानी भए गरौं, गुटको कुरा हो भने मानिँदैन भनेर फर्काएका थिए। त्यही बैठकमा चितवनका सांसद कृष्णभक्त पोखरेल नेपालको साथ छाडेर ओली समूहमा लागेका थिए।  

त्यसअघि लालबाबु पण्डित, शेरबहादुर तामाङ पनि ओली पक्षमा लागेका थिए। उनीहरूले नेपाल पक्षको साथ छोडेर हिँडेपछि अन्य सांसद पनि धर्मराएको ओली पक्षको दाबी छ। तर नेपाल पक्षले भने उनीहरूले साथ छाडेको विषयमा केही बताएको छैन। ‘खासमा केही साथीले धैर्य गुमाएको मात्रै हो। हामी सत्य र न्यायको पक्षमा निरन्तर लागिरहेका छौं’, नेपाल पक्षका एक केन्द्रीय सदस्यले भने। उनले दुवै पक्ष मिलेर एमालेलाई पुरानो अवस्थामा फर्काउनुको विकल्प नभएको पनि बताए।  

नेपाल समूहमा रहेका पार्टी उपमहासचिव घनश्याम भुसालले ओलीको स्वार्थ समूहकै कारण आफूहरूलाई कारबाही गर्न तयार भएको बताएका छन्। स्वार्थ समूहकै कारण ओलीले पार्टी तहसनहस बनाएको उनले बताए। उनले कसैसँग बदुला लिनका लागि ओलीले पार्टीलाई गुटमा फेर्दै लगेको र त्यसलाई गिरोहको रूपमा परिणत गर्न लागेको दाबी गरे। ‘केपी ओलीकै नेतृत्वमा राजनीतिक प्रकृयामा अन्यत्रै गएका थियौं तर अहिले २०७५ साल जेठ २ गतेकै अवस्थामा आएपछि त्यहींबाट सुरु हुनुपर्ने हो तर उहाँले त्यसो गर्न नचाहनु भनेको फरक विचारलाई मान्न तयार नभएको हो’, भुसालले भने।

नेपाल पक्षले पार्टीको प्रकृया सुरु गर्न माग गर्दै आएको छ। ओली पक्ष पेलेर लैजाने र विरोधीलाई पाखा लगाउने वा सके आफ्नो समूहमा ल्याउने नीतिमा लागेको छ। फागुन २८ गते आफू पक्षका केन्द्रीय सदस्यहरूलाई मात्रै बोलाएर ओलीले माओवादी समूहबाट एमालेमा आएका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुका साथै नेपाल पक्षमा रहेका नेताहरूको जिम्मेवारी खोसेका थिए। त्यसपछि माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेर ओली पक्षलाई काउन्टर दिएको थियो। सो भेलापछि ओली समूहले केन्द्रीय कमिटीको बैठक राखेर माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेर ओलीलाई पार्टीभित्र सबैभन्दा शक्तिशाली बनाउने निर्णयसमेत गरेको थियो। नेपाल पक्षले यी कुनै पनि निर्णय नमान्ने बताउँदै आएको छ। नेपाल पक्षका नेता राजेन्द्र राईले पद जाने, कारबाही हुनेजस्ता धम्कीले आफूहरूलाई केही नहुने बताएका छन्। ‘कारबाही हुन्छ, जनप्रतिनिधि पद नि जान सक्छ, आउने चुनाव नजितिएला तर पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसँग कुनै सम्झौता हुने छैन। न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ। त्यो राम्रोसँग थाहा छ र यो पनि थाहा छ, प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दार कम्युनिस्ट पार्टीभित्र जन्मिन सक्छ, इतिहासमा धेरैपटक जन्मिएका छन् तर पनि जनताको आन्दोलन, कम्युनिस्ट आन्दोलन रोकिएको छैन, रोकिने छैन,’ उनले भने।  

ओलीलाई विदेशीको साथः दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई विदेशीले साथ दिएको दाबी गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त ओलीबाट हुन्छ भनेर उनैलाई त्यसैअनुरूप हुर्काइएको आरोप पनि उनले लगाएका छन्।  

राजधानीमा आइतबार आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस (२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रियामा दाहालले ओलीलाई व्यवस्था विरोधिहरूले उक्साएको बताए। ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्न केपी ओलीलाई विदेशीले साथ दिएका छन्, संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त केपी ओलीबाटै हुन्छ भनेर उनलाई हुर्काइएको छ,’ दाहालले भने। उनका अनुसार ओलीले राष्ट्रिय–अन्तर्राष्ट्रिय सेटिङ गरेर नेकपालाई दुईवटा बनाएका हुन्। ‘उहाँ (ओली) ले राष्ट्रिय र अन्तर्राष्ट्रिय केके सेटिङ गर्नुभयो, लम्पसार पर्नुभयो, केके गर्नुभयो, तपाईंहरू नै अध्ययन गर्नुहोला र अहिले दुईटा पार्टी भयो,’ उनले भने।

आफूले उत्पीडित जनसमुदायले पाउनुपर्ने अधिकार र मुद्दा नछोडेको उनले बताए। ‘जति प्राप्त हुन्छ त्यति लिइहालौं र फेरि आन्दोलन अगाडि बढाइरहनुपर्ने हुन्छ। हामीले संविधानलाई परिवर्तन गर्दै लैजाने र उत्पीडितहरूको हकअधिकार स्थापित गर्दै लैजाने भनेका हौं,’ दाहालले भने। दलित, आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिमले अधिकार प्राप्त गर्दा सबैभन्दा दुःखी हुने मान्छे प्रधानमन्त्री ओली बनेको भन्दै दाहालले थपे, ‘अब अहिले उहाँ ती सबै अधिकार खोस्ने दाउमा हुनुहुन्छ।’ ओलीले संविधान नै धरापमा पार्ने स्थिति बनाएकाले रक्षाका लागि परिवर्तनकारी शक्ति एकजुट हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: ९ चैत्र २०७७ ०१:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App