१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सभापतिजीको उदासीनता रहस्यमय : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकार ढाल्नुपर्ने बताएका छन्। प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पूर्णप्रसाद/मायादेवी शान्ति पत्रकारिता पुरस्कार २०७७’ वितरण कार्यक्रममा बोल्दै उनले कांग्रेसले राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलाई साथमा लिएर वर्तमान केपी ओली सरकार ढाल्नुपर्ने बताएका हुन्। देशलाई अनिर्णयको बन्दी बन्नबाट निकास दिन ओली सरकार ढाल्नुपर्ने उनको भनाइ छ।

‘मैले पहिले पनि भन्दै आएको थिएँ,’ उनले भने, ‘प्रदेश १ मा अविश्वासको प्रस्ताव आयो। वागमती प्रदेशमा अविश्वासको प्रस्ताव आयो। त्यही बेलादेखि प्रदेश १ को सरकार पनि फाल्दिऊँ, वागमती प्रदेशको सरकारप नि गिराइदिऊँ र केन्द्रको केपी ओली सरकार पनि गिराइदिऊँ। प्रस्ताव अन्य दललाई ल्याऊँ, हामी हाल्छौं भोट भनेर भनौं भनेर मैले सभापतिलाई भनेको हुँ।’ तर सभापतिले वास्ता नगरेको गुनासो गर्दै उनले थपे, ‘ओली सरकार ढाल्न केपी ओलीले जसपालाई जेजे गर्छु भन्नु भएको छ। ती माग हामी पनि पूरा गर्छौं भन्दिऔं। माओवादीलाई केन्द्रलाई पनि साथ लिएर यो सरकार ढलाइदिउँ भनेर सुझाव दिएको हुँ।’

कांग्रेसका कारण ओली सरकार ढालेर नयाँ सरकार बनाउन सकिएन भनेर राजपा नेतृत्वले भनेको कुरा पत्रपत्रिकामा आफूले पढेको भन्दै पौडेलले यसमा सभापति दोषी रहेको बताए। ‘मैले पहिले नै ओली सरकार ढाल्न सुझाव दिएको हुँ,’ उनले भने, ‘तर सभापतिजीले कुनै पहलकदमी लिनु भएन, अहिले जसपा नेताहरूको मुखबाट कांग्रेसले आफूले सरकारको नेतृत्व गर्छु वा अरूलाई तपाईंहरू गर्नुस् भनेर स्पष्ट जवाफ नदिँदा अनिर्णयको बन्दी भएको भनेर भनिरहेको छ।’

पौडेलले राष्ट्रिय दायित्व पूरा गर्ने बेला कांग्रेस अनिर्णयको बन्दी हुन नहुने बताए। अहिले पार्टी अनिर्णयको बन्दी भयो भन्ने आरोप लागिरहेको भन्दै यसमा सभापति दोषी रहेको उनले आरोप लगाए। सभापति देउवाको उदासिनता रहस्यमय भएको बताउँदै उनले यसरी पार्टी नचल्ने चेतावनी दिए। उनले भने,‘मलाई पनि हाम्रो सभापतिजीको अहिलेको उदासीनता रहस्यमय लागेको छ।’ कांग्रेस संसदमा सानो संख्यामा भए पनि राजनीतिमा यसको भूमिका विशिष्ट भएको बताउँदै त्यो अहिले पनि सावित गरेर देखाउनुपर्ने उनले बताए।

नेता पौडेलले ढुलमुलले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा भूमिका खेल्न नसकिने भन्दै यस्तो अवस्था कायम रहे कांग्रेसले आफ्नो दायित्व पनि पूरा गरेको नठहरिने बताए। कांग्रेसले अब दह्रो निर्णय गरेर देशमा देखिएको अराजकताको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

पौडेलले वर्तमान अवस्थालाई निकास नदिने हो भने नेपालको राष्ट्रिय राजनीति उल्टो दिशातिर जानसक्ने चेतावनी दिए। नेपालमा धेरै थरिका खेलाडी रहेको बताउँदै उनल भने, ‘नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल चलिरहेका छन्। यहाँ एकथरि मात्र खेल खेल्ने छैनन्। थरिथरिका खेल र खेलाडीहरू छन् यो देशमा।’ ती अन्तर्राष्ट्रिय खेलाडीबाट जोगिन नेपालका राजनीतिक दलहरूले नेपाल लोकतान्त्रिण्क प्रणाली जोगाउन, व्यवस्था जोगाउन, संविधान र कानुनको रक्षा गर्न सक्षम छ भन्ने सन्देश दिनु आवश्यक रहेको उनको भनाइ थियो। 

त्यसका लागि पार्टी सभापतिले नै निर्णय गर्नुपर्ने भन्दै उनले थपे, ‘किनभने म निर्णायक छैन। मेरो हातमा निर्णायक शक्ति छैन। यसकारण कि म पार्टी सभापति पनि छैन, संसदीय दलको नेता पनि होइन। मैले त पार्टीलाई सुझाव दिने हो, दवाब दिने हो।’

प्रकाशित: ४ चैत्र २०७७ ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App